उदयपुर– प्रहरीले बेलका नगरपालिका–६ की १६ वर्षीया किशोरी कविता सुनुवारको हत्या आरोपमा पक्राउ परेका व्यक्ति सार्वजनिक गरेको छ।
प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार भारत सिक्किम बियुङ घर भई उदयपुर बेलका नगरपालिका ३ स्थित जितबहादुर ढकालको घरमा बस्दै आएका १९ वर्षीय विनोद ढकाल र १७ वर्षीया बालिका रहेका छन्।
चैत २२ गते बिहान बेलका नगरपालिका–३ स्थित यशोदा खोला किनारमा काठको गोलिया नजिक बालिकाको लाश फेला परेको भनी जानकारी प्रहरीले पाएको थियो। त्यसपछि इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी निरीक्षकसहितको टोलीले बेलका नगरपालिका–६ का कृष्ण सुनुवारको १६ वर्षीया छोरी कविता सुनुवार भएको सनाखत गरेको थियो। सुनुवारको हत्या आरोपमा विनोद ढकाल र १७ वर्षीया बालिकालाई पक्राउ गरेको थियो।
कविता सुनुवार र १७ वर्षीया आरोपित बालिका कोसी जनता माध्यमिक विद्यालय रामपुर उदयपुरमा कक्षा १० मा अध्यनरत थिए। सुनुवारले सानो सानो कुरामा आरोपित बालिकालाई होच्याउने, चिड्याउने गरी आघात पुर्याउने गरेको हुँदा रिसिईवी राखी मार्ने योजना बनाएर हत्या गरेको प्रहरीले जनाएको छ।
चैत २२ गते मंगलबार बिहान ४ बजेको समयमा एसईई तयारी कक्षाको लागि तीनै जनासँगै विद्यालय गएका थिए। बीच बाटोमा पुगेपछि विनोद ढकालले लुकाएर बोकेको बियरको बोतलले सुनुवारको टाउकोमा प्रहार गरी घाइते बनाएका थिए। त्यसपछि ढुङ्गाले समेत प्रहार गरी कर्तव्य गरी मारी मृतक लासलाई घिसार्दै यशोदा खोला किनार छेउमा रहेको काठको गोलिया नजिक फालेको खुल्न आएको प्रहरीले जानकारी दिएको छ।
घटनामा आरोपित १७ वर्षीया बालिका र प्रतिवादी विनोद ढकालसमेतलाई उदयपुर जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीको भनाइ छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।