काठमाडौं– रुसी फौजहरूले युक्रेनको बुचा नगरमा युद्ध अपराध गरेको आरोपहरू बाहिर आएपछि अमेरिकाले नयाँ प्रतिबन्ध लगाउने घोषणा गरेको छ। तीमध्ये रुसका केही महत्वपूर्ण र प्रभावशाली व्यक्ति अमेरिकाको निशानामा छन्।
जसमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको छोरी र रुसी विदेशमन्त्री सर्गेई लाभरोभका आफन्तहरू पर्छन्। अमेरिकाले रुसका केही प्रभावशाली व्यक्तिमाथि यसअघि नै प्रतिबन्ध लगाएको छ।
यसैबीच, अमेरिका र युरोपेली संघले मस्कोविरुद्ध थप प्रतिबन्धहरू घोषणाको तयारी गरेका छन्। ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले अमेरिकाले रुसमा नयाँ लगानीमाथि प्रतिबन्ध लगाउने साथै रुसी वित्तीय संस्थाहरूमाथि थप प्रतिबन्ध घोषणा गर्ने बताइन्।
वाल स्ट्रिट जर्नलका अनुसार अमेरिकाले रुसको सबैभन्दा ठूलो बैंकमाथि पनि थप प्रतिबन्ध लगाउने तयारी गरेको छ।
युरोपेली राजदूतहरूले बुधवार प्रतिबन्धहरूको पाँचौँ किस्ता घोषणा गर्दैछन्। जसमा कोइलाको आपूर्तिमा रोक लगाउने र रुसको स्वामित्तव र सञ्चालनमा रहेका पानीजहाजहरूलाई इयुभित्रका बन्दरगाहको प्रयोग गर्न नदिने सहितका कदम छन्।
रुसी फौजहरू फिर्ता भएका युक्रेनी क्षेत्रहरूबाट विध्वंस र सम्भावित युद्ध अपराधका आरोपसम्बन्धी थप विवरणहरू आइरहेका छन्।
किएभको उत्तरमा अवस्थित बोरोड्यान्का नगरका प्रहरीले बमले उडाइएका छतका भग्नावशेष मुनी सयौं मानिसहरू फसेको हुनसक्ने बताएका छन्।
पुरिएकाहरूलाई खनेर निकाल्ने प्रयास गरिरहेका मानिसहरूमाथि रुसी फौजले गोली चलाएको स्थानीयवासीले जनाएका छन्। उक्त नगर पुगेका एक जना बीबीसी संवाददाता भन्छन् 'त्यहाँ भीषण गोलाबारी गरिएको थियो जसका कारण ठूलो विध्वशं भएको छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।