काठमाडौं– गृह मन्त्रालयले लागुऔषध रोकथाम तथा नियन्त्रण राष्ट्रिय गुरुयोजना सार्वजनिक गरेको छ। मन्त्रालयमा बुधबार एक कार्यक्रमबीच गृहसचिव टेकनारायण पाण्डेको उपस्थितमा गुरुयोजना सार्वजनिक भएको हो।
लागुऔषध प्रयोगकर्ता र ओसारपसार तथा बेचबिखनको दर बढ्दै गएकाले त्यसलाई नियन्त्रण तथा न्यूनीकरण गर्नका गुरुयोजना ल्याइएको गृहसचिव पाण्डेले बताए।
५ वर्षे कार्यावधि तोकेर गुरुयोजना ल्याइएको छ। उक्त गुरुयोजना अनुसार संघ, प्रदेश र स्थानीय गरी तीनै तहको सरकारको समन्वयमा कार्यान्वयनमा लैजाने पाण्डेले बताए।
गुरुयोजनामा उल्लेख गरेअनुसार लागुऔषध कारोबार तथा सेवन नियन्त्रणका लागि लागुऔषध नियन्त्रण विभाग स्थापना गर्नेसम्मका कार्ययोजना ल्याइएको छ।
माध्यमिक तहका सामाजिक विषयका शिक्षकहरुलाई लागुऔषध सम्बन्धित प्रशिक्षित गर्ने, माध्यमिक तहको पाठ्यक्रममा लागुऔषध विषयलाई समावेश गर्नेसम्मका योजना गृहले सार्वजनकि गरेको छ।
यसका लागि शिक्षा मन्त्रालयलगायत सराकोरवाला निकायसँग समन्वय गरेर अघि बढ्ने गृहप्रवक्ता फणिन्द्रमणि पोखरेल बताउँछन्।
सचेतना अभिवृद्धि गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने लगायतका विषय गुरुयोजनामा समेटिएका छन्। त्यसैगरी, उपचार तथा पुनर्स्थापना केन्द्रको स्थापना गर्ने, समाजिक पुनर्स्थापना केन्द्र, ५ हजार भन्दा बढी लागुऔषध प्रयोगकर्ता भएको जिल्लामा सरकारी अस्पतालको समन्वयमा साइक्याट्रिक युनिटको स्थापना गरी उपचार गर्नेसम्मका योजना समेटिएका छन्।
नेपालमा लागुऔषध प्रयोगकर्ताको वार्षिक वृद्धिदर ५.०६ प्रतिशतले वृद्धि भएको गृहको तथ्यांक छ। देशभरका २५० रिह्याब सेन्टरमा ५ हजारभन्दा बढी उपचाररत रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।