काठमाडौं— रजनी गुरुङ गणेशमान सिंह कलेजमा ‘सोसल वर्क’ विषय लिएर स्नातक तह अध्ययनरत् थिइन्। पहिलो वर्ष उनी ‘इन्टर्नसिप’का लागि ‘डेज फर गर्ल्स’ संस्थामा पुगेकी थिइन्। उक्त संस्था किशोरीहरूको विषयमा काम गर्थ्यो।
तीन महिना इन्टर्नसिप गर्नुपर्थ्यो। तर, उनले ६ महिना गरिन्। त्यसपछि त्यहीँ काम पाइन्। साथीहरू जागिरको खोजीमा भौतारिइरहेका बेला उनले आकर्षक तलब पाएकी थिइन्। आफ्नै पैसाले भाइबहिनी पढाउन थालिन्। सहयोग पुग्न थालेपछि परिवार पनि दङ्ग थियो।
त्यही संस्थामा बर्दियाकी अन्जना मल्ल र ललितपुरकी महालक्ष्मी श्रेष्ठ पनि काम गर्थे। खाजा खाने र अन्य खाली समयमा उनीहरू भविष्यमा गर्ने कामबारे छलफल गर्थे। त्यही ‘चिया गफ’बाट नयाँ संस्था ‘दीगो नेपाल’को अवधारणा जन्मियो। किनभने, उनीहरू अन्य संस्थामा जागिर खानेभन्दा पनि आफैं केही नयाँ काम गर्न चाहन्थे।
दीगो नेपालमार्फत नेपाललाई दीर्घकालीन रूपमा पर्यावरणमैत्री बनाउने लक्ष्य राखे। आफू कार्यरत संस्थाबाट विभिन्न ठाउँ घुम्दा गरेको अवलोकन र बटुलेको अनुभवले निकै टेवा पुग्यो। पहिला त प्लास्टिक पुनःप्रशोधन गर्ने व्यवसाय चलाउने सोच बनाएका थिए। तर, त्यसका लागि महंगो मेसिन खरिद गर्नुपर्ने भयो। उनीहरूसँग ठूलो लगानी थिएन।
पुनःप्रशोधन गर्ने संस्था अरु पनि थिए। यस्तो अभियानबाट दीर्घकालीन रूपमा प्लास्टिकका सामग्रीको विकल्प खोज्न पनि सकिँदैन थियो। त्यसैले नयाँ र फरक कामबारे सोच्न थाले। अनि, प्लास्टिकको विकल्पमा बाँसका सामग्री तयार पारेर बेच्ने योजना बनाए।
उनीहरू बाँसबाट बनेका ब्रस, ब्याग, कागजको कलम, काइँयो, कलमदानी, लुफाह बडी स्क्रबर, लुफाह ब्याक स्क्रबर, लुफाह डिश वाश स्क्रबर, मास्क, चकटी, रोटी राख्ने बास्केट आदि सामग्री बनाउँछन्। हप्ताको एक दिन विभिन्न व्यापारिक मल र क्याफेमा बाँसका ती सामग्रीको स्टल राख्छन्।
त्यति मात्र नभइ उनीहरू वातावरणीय समस्याबारे सचेतना प्रदान गर्ने र पर्यावरणमैत्री विकल्पबारे छलफल गर्ने पनि गर्छन्। अहिले आफूहरूले गरिरहेको काम समुदायमार्फत गर्ने लक्ष्य राखेको रजनी बताउँछिन्। ‘हामीले गरेको कामबाट दीर्घकालीन रुपमा फोहोर व्यवस्थापनमा पनि टेवा पुग्छ। यसले स्वरोजगारलाई बढावा दिन्छ। प्लाष्टिकका सामग्री प्रयोगमा रोक लगाउने अभियान तत्कालै हुने काम होइन,’ उनले भनिन्।
उनीहरूले दीगो नेपालका लागि कार्यलय स्थापना गरेका छैनन्। आ–आफ्नो कोठामा काम गर्छन् र त्यहीँबाट छलफल गर्छन्। अहिले आफूहरू तीनै जनाको जीविका यसैबाट चलेको उनको भनाइ छ।
रजनी अहिले पूर्ण रूपमा दीगो नेपाललाई समय दिइरहेकी छिन्। अन्जना भने स्नाकोत्तर अध्ययन गर्दै बाँकी समय काम गर्छिन्। उता महालक्ष्मीले घरायसी काममा लाग्ने समयबाहेक दीगो नेपालका लागि काम गर्छिन्। उनीहरू अनलाइनबाट पनि उपभोक्तासँग जोडिएका छन्। अनि, मागअनुसार सामग्री बनाएर पुर्याइदिन्छन्।
बाँसको सामग्री बनाएर सन् २०२० मार्चबाट बेच्न सुरु गरेका थिए। तर, महंगो सामग्री सबैले किन्न सक्दैन थिए। त्यसो हुँदा उद्देश्य पनि पूरा हुँदैन थियो। त्यसैले स्थानीय रूपमा पाइने सामग्रीलाई प्रयोग गर्ने निर्णय गरे।
त्यस बेलासम्ममा रजनी र अञ्जनाले जागिर छाडिसकेका थिए। महालक्ष्मी भने पुरानै संस्थामा थिइन्। नयाँ व्यवसाय सुरु गर्नका लागि उनीहरूले १० हजारका दरले रकम जुटाए। ‘हामी तीन जना नै ठूलो लगानी गर्न सक्ने अवस्थामा थिएनौँ। हाम्रो सोच पनि ठूलो लगानी गर्ने नभएर सानो लगानीबाट सचेतना फैलाउने र विकल्प दिने भन्ने हो,’ रजनी भन्छिन्।
त्यही बेला कोरोना महामारी सुरु भयो। व्यवसाय गर्न गाह्रो भयो। जागिर छाडिसकेका थिए। ‘अब हामीसँग यो काम छाडेर अरु केही गर्ने विकल्प पनि थिएन। अनि, हामीले हिम्मत गरेर काम थाल्यौँ,’ रजनी भन्छिन्।
उनीहरूले बाँसको काम गर्न जान्ने एक जना महिला कामदार राखेर विभिन्न सामग्री उत्पादन गर्न थाले। सुरुमा त महिनाको ५ देखि १० हजार रुपैयाँ मात्र कमाउँथे। तर, बिस्तारै प्रचार हुन थाल्यो। प्रचारका लागि फेसबुक र इन्स्ट्राग्रामलाई प्रयोग गरे। पेज खोलेर त्यहाँ सबै जानकारी राख्न थाले। बिस्तारै बिक्री बढ्न थाल्यो।
अञ्जनाको घर बर्दियातिर बाँसहरू त्यतिकै खेर गइरहेको थियो। उनले त्यहाँका थारु महिलासँग सहकार्य गर्न थालिन्। बनाउने सामग्रीको नमूना भने दीगो नेपालले नै दियो। त्यहाँका महिलाले बास्केट र रोटी राख्ने हटकेस बनाउने गरेका छन्। त्यहाँबाट १४ महिला दीगो नेपालसँग जोडिएर काम गरिरहेका छन्।
उताका महिलाले घरको काम सकेपछि बाँकी समयमा बाँसका सामग्री बनाउने गरेको अञ्जना बताउँछिन्। भक्तपुरमा भने पुरुष कामदार पनि छन्। कतिपय कृषक पनि यसमा जोडिएका छन्। कृषकहरूले दीगो नेपाललाई घिरौँलाको जालो उपलब्ध गराउँछन्।
दीगो नेपालमा आंशिक र पूर्णकालीन गरेर १८ जनाले रोजगारी पाइरहेका छन्। सिर्जनात्मक कलाकार दुई जना छन्। उनीहरूले बाँसका विभिन्न डिजाइन बनाउने र त्यसलाई आकर्षक रूप दिने गरेका छन्।
अहिले उनीहरू बाँसका बाहेक अन्य संस्थासँगको सहकार्यमा विभिन्न सामग्री बनाउँछन्। उनीहरूले नारी नेपाल, धातु नेपाल र ब्याम्बो ब्रान्डसाग सहकार्य गरेका छन्। महिनाको एक लाखसम्म कमाइ हुन थालेको छ।
कुनै बेला दीगो नेपाल सुरु गर्ने उद्देश्यले जागिर छाड्दा रजनीले परिवारलाई जानकारी दिएकी थिइनन्। गैरसरकारी संस्थाको राम्रो जागिर छाडेकोमा परिवारका सदस्य रिसाउँछन् भन्ने डर थियो। ‘मैले जागिर छाडेको एक वर्षसम्म पनि परिवारलाई थाहा थिएन,’ उनी भन्छिन्, ‘अहिले त परिवारमा सबै खुसी छौँ। आफू रोजगार हुनु मात्र ठूलो कुरा होइन, हामीले अरुलाई पनि काम दिएका छौँ। अझ पर्यावरणमैत्री काम गरिरहेका छौँ, यो झनै ठूलो कुरा हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।