काठमाडौं– अवकाश भइसक्दा पनि नियमित कार्यालय धाउने नेपाल आयल निगमका कर्मचारीले राजीनामा दिएका छन्। ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जानुपर्ने निगमका कर्मचारी शिवराज भण्डारी सेवामै रहेर नियमित कार्यालय धाउने गरेको भन्ने समाचार नेपाल लाइभले प्रकाशित गरेको थियो।
उक्त समाचार प्रकाशित गरेको भोलिपल्टै अर्थात चैत १५ गते राजीनामा दिएर भण्डारी बिदा भएको निगम स्रोतले जानकारी दियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने सुइँको पाएपछि उनले राजीनामा दिएर हिँडेको बताइएको छ। स्रोतले नेपाल लाइभसँग भन्यो, ‘अवकाश भइसक्दा पनि उहाँ नियमित कार्यालय आउनुहुन्थ्यो। यसबारे समाचार प्रकाशित भएको भोलिपल्टै राजीनामा दिएर बिदा भइसक्नु भएको छ।’
भण्डारीले आयल निगम प्रादेशिक कार्यालय धनगढीको प्रशासन प्रमुखको रूपमा जिम्मेवारी सम्हाल्दै आएका थिए। छैटौं तहका भण्डारीले चैत १५ गते राजीनामा दिएर बिदा भएका छन्।
नेपाल आयल निगम कर्मचारी प्रशासन विनियमावली २०६३ को १२.३ मा अनिवार्य अवकाशका आधारहरू खुलाइएको छ। जसको पहिलो नम्बरमै ५८ वर्ष उमेर हदमा अनिवार्य अवकाश हुने व्यवस्था छ।
भण्डारीले जिल्ला प्रशासन कार्यालय कैलालीबाट २०४० चैत १२ गते नागरिकताको प्रमाणपत्र लिएका थिए। उनको नागरिकता प्रमाणपत्र नम्बर ३६५६ हो। नागरिकता लिएका बेला उनको उमेर २० वर्ष भएको उल्लेख छ।
अर्थात्, २०४० चैत १२ गते उनी २० वर्ष पूरा भएका थिए। त्यसअनुसार उनको जन्ममिति २०२० चैत १२ गते भएको खुल्छ। नागरिकताअनुसार उनी चैत ११ मा ५८ वर्ष पूरा भएर अनिवार्य अवकाशमा जानुपर्ने थियो।
तर, भण्डारी भने शैक्षिक प्रमाणपत्रको आधारमा आउँदो असार १७ गतेसम्म जागिर लम्ब्याउने ध्याउन्नमा थिए। यसबारे नेपाल लाइभले समाचार प्रकाशित गरेपछि भण्डारीले राजीनामा दिएर बिदा भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।