काठमाडौं– प्रदेशका प्रमुखहरुलाई हटाउने निर्णय नभएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले बताएका छन्।
रिमालले भदौ ४ पछि भएका अन्य राजनीतिक नियुक्तिहरु मात्र खारेज भएको बताए।
यसअघि कानुनमन्त्री शेरबहादुर तामाङले बुधबार राति बसेको मन्त्रिपरिषद् बैठकले पूर्ववर्ती सरकारले गरेका अन्य राजनीतिक नियुक्तिसँगै प्रदेश प्रमुखहरु पनि हटाउने निर्णय गरेको जानकारी दिएका थिए।
‘कानुनमन्त्रीज्यू झुक्किनुभएको रहेछ, प्रदेश प्रमुखहरुलाई हटाउने निर्णय भएको छैन’, रिमालले नेपाल लाइभसँग भने।
बुधबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश तथा प्रतिनिधिसभाका लागि निर्वाचन आचारसंहिता लागू भएदेखि नयाँ सरकार गठन हुनुभन्दा पहिले मन्त्रिपरिषद् तथा मन्त्रीस्तरबाट भएका सबै नियुक्ति खारेज गर्ने निर्णय गरेको थियो।
तत्कालीन देउवा सरकारले प्रदेश १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वरलाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुखका रुपमा सिफारिस गरेको थियो। नियुक्त गरिएका प्रदेश २ का कायस्थ र प्रदेश ५ का झाबाहेक बाँकी सबै कांग्रेस निकट हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।