काठमाडौं– पाँच वर्षअघि दक्षिण भारतीय फिल्म निर्देशक एसएस राजमौलीले ‘बाहुबली २’ निर्देशन गरेसँगै उनीमाथि भारतीय मात्रै नभएर विश्वभरकै दर्शकले अपेक्षा गरिरहेका थिए। उनले गर्ने नयाँ ‘प्रोजेक्ट’ झन् ‘बबाल’ हुनेछ। पाँच वर्षको पर्खाइपछि राजमौलीको फिल्म ‘आरआरआर’ शुक्रबार प्रदर्शनमा आएको छ।
राजमौली, करोडौंको बजेट, दक्षिण भारतीय सिनेमाका दुई सुपरस्टार भएको फिल्मलाई लिएर दर्शकमा अपेक्षा हुनु स्वभाविक हो। पाँच वर्षको पर्खाइपछि पर्दामा देखिएको राजमौलीको सिर्जना दर्शकको अपेक्षा पूरा गर्न मात्रै नभएर एउटा ‘मास्टरपिस’को रुपमा रहेको छ।
‘आरआरआर’ले भन्ने कथा स्वतन्त्रताका निम्ति लड्नेहरुको हो। कोमराम भीम (जुनियर एनटीआर) र अल्लुरी सिताराम (राम चरण) फिल्ममा स्वतन्त्रताका योद्धाको रुपमा प्रस्तुत छन्। तर, फिल्मले केवल स्वतन्त्रताकै मात्रै कथा भन्दैन्। १९२० को दशकको परिवेशमा बनेको फिल्मले भारतमा बेलायती साम्राज्यको समयमा आदिवासीहरुमाथि हुने दमन, शक्तिको दुरुपयोग, क्रान्तिको कारणदेखि भावनात्मक सम्बन्धका कथालाई भन्छ।
बेलायती साम्राज्यमा भारतका गभर्नरकी श्रीमतीले स्थानीय गोन्ड जातिकी एक बच्ची मल्लीलाई लगेसँगै फिल्मको कथा सुरु हुन्छ। आफ्नो सन्तानलाई नलैजान आग्रह गरिरहेकी आमा मारिन्छन्। बेलायती साम्राज्यको समयमा भएको दमनमा परेका आदिवासी र स्थानीयहरुको मूल्य बन्दुकको गोलीभन्दा पनि कम मानिन्छ।
कोमराम भीम यही गोन्ड जातिको मुखिया (नेता)को भूमिकामा छन्। समूहमा बस्न रुचाउने गोन्ड जातिलाई नेतृत्व गर्ने र उनीहरुको सुरक्षा गर्ने भूमिकामा देखिएका छन् उनी। गोन्ड जातिबाट छुटाएर लगिएकी मल्लीको खोजीको कथाबाट फिल्म सुरु हुन्छ।
अल्लुरी सिताराम बेलायती साम्राज्यमा प्रहरीको रुपमा देखिएका छन्। आफ्नो देश र जागिरको निम्ति मर्न र मार्ने हदसम्म पुग्ने विशेषता उनमा हुन्छ।
एक बालिकाको खोजीबाट कसरी भारतमा राज गरिरहेको बेलायती साम्राज्यको विरुद्धमा विद्रोही रुप उत्कर्षमा पुग्छ भन्ने कथा फिल्ममा देखाइएको छ।
राजमौलीले फिल्ममा गरेको खर्च फिल्मको दृश्यांकनमा देखिन्छ। दक्षिण भारतीय फिल्ममा हुने मसला त यसमा छँदै छ, सँगै कथालाई एउटा सुन्दर रुप दिइएको छ। धेरैले फिल्मको कथालाई भारतीय स्वतन्त्रताका लागि लडेका अल्लुरी सितारामा राजु र कोमाराम भीमको कथाको रुपमा लिएका छन्। तर, फिल्मका मुख्य अभिनेतालाई उनीहरुबाट प्रभावित मात्रै गरेर सम्पूर्ण कथालाई कल्पना गरिएको छ। यर्थाथ वा इतिहासको कुनै कालखण्डमा भएको वास्तविक घटनालाई नभएर फिल्मका लेखक केभी विजयकेन्द्र प्रसादको कल्पनामा आधारित छ ‘आरआरआर’।
‘आरआरआर’ एउटा एक्सन फिल्म हो। फिल्ममा भरपुर एक्सनको प्रयोग गरिएको छ। तर, फिल्म एक्सन मात्रै होइन। युट्युबमा पाइने अधिकांश दक्षिण भारतीय फिल्ममा जस्तो विश्वास नै नलाग्ने द्वन्द्वका दृश्य र कथाको अभावबाट गुज्रिएको छैन, ‘आरआरआर’।
फिल्ममा भएको कथ्य शैलीले दर्शकलाई तीन घण्टासम्म हलको सिट छाड्न दिँदैन। सामान्यतयाः बनिरहेका फिल्मभन्दा एक घण्टा लामो फिल्म भएपनि आरआरआरमा प्रस्तुत गरिएको कथ्य शैली र फिल्मको छायांकनको कारण पनि दर्शकले यसको मजा लिन सक्छन्।
फिल्मको सुरुवामतै मुख्य अभिनेताहरुलाई देखाउँदा एक्सन सिक्वेन्सको प्रयोग गरिएको छ। बेलायती प्रहरीको भूमिकामा देखिएका राम चरणलाई दर्शकसँग साक्षात्कार गर्दाको क्षणमा देखाइएको एक्सन सिक्वेन्स अपत्यारिलो छ, तर असम्भव होइन। हजारौंको भिडमा एक व्यक्तिलाई पक्राउ गर्न राम चरणले गरेको संघर्षलाई विश्वास गर्न सक्ने किसिमले देखाइएको छ।
जुनियर एनटीआरको आगमनमा पनि यस्तै दृश्य समेटिएको छ। जंगलमा खिचिएको दृश्यमा भएको भागदौड मजा आउने मात्रै नभएर सिनेमाको प्राविधिक पाटोबाट पनि निक्कै अब्बल छ। ‘ब्वाँसो’ र ‘बाघ’मा गरिएको सिजिआरमा खोट पाइँदैन। यी दृश्यहरुमा कलाकारको अभिनयसँगै छायांकनको पाटोबाट देखिएको गम्भीरताले दर्शकको शरीरलाई सिरिङ्ग पार्छन्।
फिल्मको पहिलो भागमा कथा सरल र गतिशिल रुपमा बढेको छ। कथा थोरै अघि बढ्छ। दर्शकलाई ‘बोर’ हुनसक्ने संकेत हुनुअघि नै फिल्ममा ‘धुँवादार’ एक्सन सिक्वेन्स देखिन्छ। फिल्मको सुरुवातमा देखाइएको दृश्यहरु पछिल्तिर जोडिन्छन्। जुनियर एनटीआर अभिनित भीम पात्रले बेलायती गभर्नरको भवनमा हमला गर्दा जंगली जनावरहरुलाई लिएर गएको दृश्य ‘सिनेमेटिक मास्टरपिस’को रुपमा रहेको छ।
पहिलो हाफजस्तै दास्रो हाफमा पनि कथा अघि बढ्छ। तर, दोस्रो हाफमा थोरै भावुकता र विगतको झझल्को आउँछ। फिल्ममा ‘एक्सटेन्डेट केमियो’ भूमिकामा देखिएका अजय देवगणको भूमिकाको रहस्योद्घाटन यहाँ हुन्छ। राम चरण अभिनित सितारामको जीवनमा परेको प्रभावलाई देखाइएको छ।
फिल्ममा आलियाको भूमिका सीताको रुपमा छ। तर, उनले आफ्नो भूमिकामा खासै अभिनय गर्ने दृश्यहरु छैनन्। फिल्ममा आलियाले धेरैमा ६÷७ मिनेट मात्रै स्क्रिनमा देखिन्छिन्। १०÷१५ वटा मात्रै संवाद बोल्छिन्। सीताको भूमिकामा उनले आफ्नो अभिनयको अब्बलता देखाउन सकेकी छैनन्। किनकी फिल्ममा उनको भूमिकालाई त्यो अवसर नै दिइएको छैन।
फिल्म प्रत्यक्ष रुपमा बेलायती साम्राज्यसँग जोडिएको छ। जसकारण फिल्ममा बेलायती शासकहरुको भूमिकामा कलाकारलाई लिइएको छ। बेलायती पक्षको मुख्य भूमिकामा रे स्टेभेनसक्नले स्कटको अभिनय गरेका छन्। फिल्ममा बेलायतीहरु भारतमा शासक गरिरहँदा जबर्जस्ती हिन्दी बोल्ने दृश्य फिल्ममा छैन। फिल्ममा बेलायती सैनिक र शासकहरुले बोल्ने लवज र भाषामा जबर्जस्ती हिन्दी हाल्न खोजिएको छैन।
फिल्ममा भएको पाश्र्वध्वनी र संगीतले दर्शकलाई फिल्मभित्रको माहोल ‘फिल’ गराउँछ। ‘नाँचो नाँचो’ गीतमा दृश्यमा राम चरण र जुनियर एनटीआरको नृत्यले दर्शकलाई पनि उठेरसँगै नाच्न लगाउन सक्छ। ‘एक्सन सिक्वेन्स’हरुमा भएको पाश्र्वध्वनीले पनि दर्शकलाई फिल्म ‘फिल’ गराउँछन्।
‘आरआरआर’का सबैजसो एक्सन सिक्वेन्सहरुमा ‘अन्डरक्रेन्किङ’ शैलीको प्रयोग गरिएको छ। फिल्म खिच्दा कम फ्रेम (१८÷१९ फ्रेम प्रतिसेकेन्ड)मा खिचेर त्यसलाई सामान्य फ्रेम (२४ फ्रेम प्रतिसेकेन्ड)मा प्रदर्शन गरिनुलाई अन्डरक्रेन्किङ शैली भनिन्छ। आरआरआरमा प्रयोग भएको यो शैली सिनेमाको प्राविधिक पक्षसँग साक्षात्कार दर्शकले महसुस गर्न सक्छन्। फिल्मका एक्सन सिक्वेन्सहरुमा यो शैलीको प्रयोगका कारण पनि सिनेमेटिक विशेषता पाइन्छ।
फिल्मका निर्देशक राजमौलीको यसअघिको फिल्म ‘बाहुबली’को दुवै भागमा भएजस्तै सदैव याद हुने दृश्य र पात्रहरु ‘आरआरआर’मा दर्शकले नपाउन सक्छन्। ‘बाहुबली’मा जस्तै कल्पनामै कुनै राज्यको निर्माण ‘आरआरआर’मा छैन। तर, राजमौलीको ‘आरआरआर’लाई ‘बाहुबली’सँग तुलना गर्नु अनावश्यक हुन्छ।
यद्यपि, ‘आरआरआर’ जुन बजेटमा बनेको छ, त्यो अनुसारको दृश्यांकन, भीएफएक्स फिल्ममा छ। गाडीको चक्कामा गोली लाग्दा गाडी कसरी पल्टियो भन्ने जस्ता ‘लजिक’हरु नखोज्ने हो भने फिल्म हेरिरहँदा दर्शकले ‘बोर’ हुन पर्दैन। ‘मास एक्सन’ विधामा रहेको फिल्मले सुन्दर कथा, सुन्दर प्रस्तुतिसँगै दर्शकलाई तीन घण्टासम्म पूर्ण मनोरञ्जन दिने सामथ्र्य राख्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।