काठमाडौं– स्थानीय तहको निर्वाचन घोषणा भएसँगै राजनीतिक सरगर्मी बढेको छ। राजनीतिक दलका नेता तथा कार्यकर्ता अर्को पाँच वर्षका लागि स्थानीय तहमा आफ्नो वर्चश्व कायम गर्ने होडमा छन्। तर, त्यसभन्दा पर यति बेला केही नागरिक भने करिब डेढ महिनाको जागिरका लागि चर्को घाममा परीक्षा दिइरहेका छन्।
त्यहीकारण 'म्यादी प्रहरी' बन्न खोज्ने सर्वसाधारणका लागि चुनाव 'विशेष' हुन्छ। त्यसैले चर्किँदै गएको गर्मीमा पनि देशभरका प्रहरी (जिल्ला प्रहरी) कार्यालयअगाडि थेगी नसक्नुको लाइन देखिन्छ। त्यो लाइनमा अधिकांश मध्यम र न्युन वर्गका १८ देखि ५४ वर्ष उमेर समूहका महिला–पुरुष छन्। कतिपय भने प्रहरी बन्न पाउने 'क्रेज'ले पनि म्यादी बन्न लाइनमा पुगेका छन्। धेरैजसो भने केही समयलाई भए पनि घर तथा व्यक्तिगत खर्च धान्न अत्यासलाग्दो लाइनमा आफ्नो पालो कुरिररहेका हुन्छन्।
महानगरीय प्रहरी परिसर काठमाडौं (टेकु)मा म्यादीको फाराम बुझाउन पुगेको भिडमा एक महिला दूधे बालक बोकेर लाइनमा उभिएकी छन्। कतिबेर बस्नुपर्ने हो, थाहा छैन। उनले काखमा बोकेको बालक आफूसँगै उभिएका पुरुषलाई बोक्न दिइन्। दुवै जना पालो फेरेर बच्चा बोकिरहेका छन्। बच्चा बोक्नबाट फुर्सद् पाउनेले फाराम बुझाउने पालो कति बेला आउँछ भनेर यताउति बुझ्छन्।
बच्चा बोकेकी महिला कृषा पाण्डे र बच्चा बोक्न सघाइरहेका उनका श्रीमान् कपिल कुतुवार हुन्। काठमाडौंको तार्केश्वर नगरपालिका गोलढुंगा घर भएका श्रीमान्–श्रीमती नै म्यादी प्रहरीमा आवेदन दिन टेकु पुगेका हुन्।
पहिलो पटक सोमबार आउँदा फाराम बाँड्ने समय सकिएकाले उनीहरु त्यत्तिकै फर्किनुपर्यो। 'आज (बुधबार) त फाराम बुझाउन पाइएला कि?' कृषाले सुनाइन्।
कृषाको धेरै समय घरायसी काममै बित्छ। श्रीमान् कपिल साहुको गाडी चलाउँछन्। 'कोरोना महामारी सुरु भएयता गाडी चलाउने काम पनि त्यति पाइँदैन। काम पाए पनि साहुहरुले तलबका लागि झुलाउँछन्,' कुतुवारले भने।
केही समयका लागि भए पनि घरखर्च जुटाउन सकिएला कि भनेर श्रीमान्–श्रीमती नै म्यादी बन्न फाराम बुझाउन आएको कृषाले बताइन्। 'अर्की (जेठी) छोरी पनि छन्। अहिले सासूको जिम्मा लगाएर आएका हौं। यो नानी त १ वर्षको भइन्। बुढी सासूले स्याहार्न सक्नुहुन्न। त्यसैले सँगै बोकेर आएँ,' कृषाले सुनाइन्।
कपिलले सामाजिक सञ्जालमार्फत् म्यादी प्रहरीको भर्ना खुलेको थाहा पाएका रहेछन्। म्यादीमा भर्ना हुनुपर्यो भनेर उनले श्रीमती (कृषा)लाई सुनाए। कपिलको सोच आफू मात्रै म्यादीमा जाने थियो। तर, कृषाले आफू पनि म्यादी प्रहरी बन्ने बताइन्। अनि, दुवै जना फाराम भर्न पुगे।
'घरमा कसैलाई पनि भनेका छैनौं। हामी दुवै जनाले सल्लाह गर्यौं। रोजगारी नभएको बेलामा केही समयलाई भए पनि घरखर्च टर्ला भनेर म्यादी बन्न आएका हौं,' श्रीमतीको काखबाट बच्चा समाउँदै कपिलले भने।
कृषा र कपिल स्कूल देखिकै साथी। मन मिल्यो अनि जीवनसाथी बने। उमेर समान छ। शैक्षिक योग्यता पनि समान– एसएलसी उत्तिर्ण।
कपिलका अनुसार उनका धेरै साथी अहिले विदेशमा छन्। विदेशबाट घर आउँदा उनलाई साथीहरुले सल्लाह दिन्छन्– नेपालमा बसेर केही हुँदैन, हिँड तिमी पनि विदेश। तर, कपिललाई लाग्छ– विदेशमा पनि रुखमा पैसा फल्दैन। परिश्रम नै गर्नुपर्छ। 'विदेशमा गएर पनि परिश्रम नै गर्ने हो भने देशमै किन नगर्ने? त्यही भएर म विदेश गइनँ,' कपिल भन्छन्।
कृषा र कपिललाई लाग्थ्यो– पढेको भए यति धेरै सास्ती हुँदैन थियो कि? तर, 'डिग्री' पास गरेकाहरु पनि म्यादीको लाइनमा भेटिएपछि भने उनीहरुलाई नराम्रो लागेको छ। सँगै डर पनि लागेको छ– डिग्री पास गरेकाहरुसँग 'कम्पिटिसन' गर्दा 'फेल' पो भइने हो कि?
'देशभर नै एक लाख जनाका लागि मात्रै हो रे म्यादीको भर्ना खुलेको। डिग्री पास गरेकाहरु पनि लाइनमा छन्। हामीले तिनीहरुसँग कम्पिटिसन गर्नुपर्ने। हामीजस्ता बेरोजगार त लाखौं होलान् नि है?' भय मिश्रित भावमा कृषाले प्रश्न गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।