काठमाडौं– नाबालिग गायिकामाथि करणी (बलात्कार) गरेको अभियोग लागेका कलाकार पल शाह (पूर्णविक्रम शाह) विरुद्धको मुद्दामा तनहुँ जिल्ला अदालतमा थुनछेक बहस जारी छ।
जिल्ला अदालत तनहुँका श्रेस्तेदार मिनबहादुर कुँवरका अनुसार शाहको मुद्दामाथि प्रमुख जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको इजलासमा थुनछेक बहस भइरहेको छ।
शाहविरुद्ध मंगलबार जिल्ला अदालतमा अभियोग पत्र दायर गरिएको थियो। अभियोग पत्र दायर भएकै दिन अभियुक्त शाहको अदालती बयान सकिएको थियो।
सुनुवाइको सुरुमा सरकारी वकिलले बहस गरिरहेका छन्। सरकारी वकिलको बहसपछि पीडितको पक्षका कानुन व्यवसायीले बहस गर्नेछन्।
मानव अधिकार आयोगकी पूर्व सदस्य समेत रहेकी अधिवक्ता मोहना अन्सारीसहित केही कानुन व्यवासायी पीडितको पक्षबाट बहसका लागि तनहुँ पुगेका छन्। पीडितको पक्षका कानुन व्यवसायीहरुको बहसपछि मात्रै शाह र उनका म्यानेजर कृष्ण जोशीका कानुन व्यवसायीले बहस गर्न पाउनेछन्।
थुनछेक बहस सकिएपछि मात्रै अदालतले आदेश जारी गर्ने छ। मुद्दाको पुर्पक्षका लागि बलात्कार आरोपी शाह र मतियारको आरोप लागेका उनका म्यानेजर जोशीलाई तारेखमा राख्ने, धरौटी मागेर तारेखमा राख्ने वा थुनामा पठाउने भन्ने आदेश हुनेछ।
श्रेष्तेदार कुँबरका अनुसार हालसम्म जाहेरबालाका तर्फबाट ७ र शाहको पक्षवाट १० जना कानुन व्यवासायीले वकालतनामा भरेका छन्। यो संख्या अझै बढ्ने देखिएकाले बुधबार थुनछेक वहस समाप्त हुन नसक्ने देखिएको श्रेस्तेदार कुँवरले बताए।
‘दुवै पक्षको वहस समाप्त भएन भने भोलि (बिहीबार)का लागि हेर्दाहेर्दैमा राखेर सुनुवाइ हुन्छ,’ उनले भने ‘सम्भवत: भोलि (बिहीबार) मात्रै इजलासले थुनछेक आदेश सुनाउने सम्भावना छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।