काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तराई मधेसमा एमालेप्रतिको आकर्षणले राजनीतिक शक्ति सन्तुलनलाई बदल्ने बताएका छन्। बुधबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा उनले तराई-मधेसमा देखिएको पार्टी प्रवेशको प्रवत्ति उल्लेखनीय भएको बताएका हुन्।
'विगत निर्वाचन र सोभन्दा अगाडिदेखि नै नेकपा (एमाले) का विरूद्ध भ्रम प्रचार गरिएको, घृणा फैलाइएको, प्रवेश निषेध गरिएको र यसै कारणले गर्दा निर्वाचनमा अपेक्षित परिणाम हासिल हुन नसकेको मधेस प्रदेशलगायत तराई-मधेसमा नेकपा ( एमाले) प्रतिको आकर्षणले आगामी राजनीतिक शक्ति सन्तुलनलाई नै बदल्ने स्पष्ट छ', ओलीको प्रतिवेदनमा भनिएको छ, 'यसले राष्ट्रिय राजनीतिबाट जातीय-क्षेत्रीय सङ्कीर्णता, दुर्भाव र विखण्डनका प्रवृत्तिलाई निस्तेज पार्न र राष्ट्रिय एकतालाई अझ खँदिलो बनाउन पनि ठूलो सहयोग पुग्नेछ।'
ओलीले सत्ता-स्वार्थ, अवसरवाद र राजनीतिक विकृतिमा चुर्लुम्मै डुबेको माओवादी नेतृत्वप्रति मोहभंग भएर त्यसबाट अलग हुँदै नेकपा (एमाले) मा आबद्ध हुने राष्ट्रव्यापी लहर चलेको भन्दै यसको खास अर्थ र सन्देश रहेको बताएका छन्। 'आधारभूत तहबाटै पार्टी एकता अगाडि बढाउने हाम्रो अभियानले सार्थकता पाएको छ र नेकपा (एमाले) नै मुलुकको नेतृत्वदायी पार्टी तथा प्रमुख राष्ट्रिय शक्ति हो भन्ने तथ्यलाई यस घटनाक्रमले स्पष्ट पारेको छ', ओलीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।