काठमाडौं– मोरङको लेटाङमा एक जना प्रहरी जवानको ज्यान गएको घटनाको छानबिन गर्न समिति गठन भएको छ। प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता नवीन राईका अनुसार एसएसपी राजेन्द्रप्रसाद चौधरीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो।
समितिले सत्यतथ्य छानबिन गरेर प्रतिवेदन बुझाएपछि दोषीमाथि कारबाही प्रक्रिया अघि बढ्ने राईले बताए।
लेटाङ–५ को शिक्षा विकास माविका एक शिक्षकले १४ वर्षीया छात्रालाई यौन दुर्व्यवहार गरेको भनिएको घटनाबाट सिर्जित तनावमा झडप हुँदा गत आइतबार प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो। थप २५ जना घाइते समेत भएका थिए।
उक्त स्कुलका शिक्षक मनोज पौडेलले छात्रालाई दुर्व्यवहार गरेको आरोपपछि उत्पन्न विवादले प्रहरीकै हत्यासम्मको स्थिति लिएको थियो। शिक्षक पौडेललाई आइतबार प्रहरीको जिम्मा लगाउने तयारी थियो। त्यसबारेमा स्थानीय र शिक्षकहरुबीच छलफल समेत भएको थियो। तर, आक्रोशित भीडले शिक्षकलाई नै आक्रमण गर्न सक्ने अवस्था आएपछि प्रहरीलाई खबर गरिएको थियो। प्रहरी टोली घटनास्थल आएर शिक्षकलाई आक्रमण हुनबाट जोगाएको थियो।
त्यसपछि भीड झनै आक्रोशित हुँदा झडप भएको थियो। आक्रोशित भीडमध्येका केहीले प्रहरी जवान श्रेष्ठमाथि घाँटीमा धारिलो हतियार प्रहार गरेका थिए। त्यसपछि गम्भीर घाइते भएकी उनलाई आइतबार राति नै कोशी अस्पताल पुर्याइएकोमा डाक्टरले मृत घोषणा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।