काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले पार्टीमा एकता जरुरी रहेको बताएका छन्। पार्टीको धुलिखेल नगर समितिद्वारा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले आसन्न निर्वाचन लक्षित पार्टीको ‘घर घर जाऔं, कांग्रेस जिताऔं अभियान’द्वारा कांग्रेस एकाकारले पूर्णता पाउनेसमेत बताए। ‘कांग्रेस एकाकार हुने वातावरण बन्दै गएको छ, त्यो जिल्ला जिल्लामा देखिँदै गएको छ,’ उनले भने, ‘अब गुटउपगुट अन्त्य हुनेमा विश्वस्त छु।’
आगामी स्थानीय तहको निर्वाचनमा सबै तह कांगे्रसमय हुने दाबीसमेत उनले गरे। ‘स्थानीय तहमा सबै निकाय जित्नेछौँ,’ उनले भने, ‘सोही आधारमा संघ र प्रदेश निर्वाचनमा पनि पूर्ण सफलता मिल्नेछ।’
कांग्रेस लोकतान्त्रिक मूल्य र मान्यता बोकेर हिँडेको बताउँदै प्रवक्ता महतले विधिको शासनलाई पूर्णरुपमा स्थापित गर्नुपर्ने दायित्वसमेत आफूहरुमा रहेको उल्लेख गरे। ‘कांग्रेसभित्रका आन्तरिक मनमुटाव त्याग्र्दै पार्टीमा नवप्रवेशीलाई नयाँ–पुराना नभनी जिम्मेवारी दिएर सँगसँगै जानुपर्छ,’ उनले भने, ‘यसबाट मात्रै पार्टीले बहुमत प्राप्त गर्दछ।’ पार्टी सत्तामा हुँदा र नहँुदा एउटै कुरा गर्ने र सर्वदा सत्यको पक्षमा उभिने कांग्रेसमात्रै रहेको दाबी उनले गरे।
कांग्रेसको एकमहिने अभियानअन्तर्गत वडा, गाउँ÷नगर समितिले आपसी सहकार्य गरी हरेक नागरिकको घरमा पुगेर उनीहरुको गुनासा तथा अपेक्षा धर्यतापूर्वक सुन्न र भएका दुविधाको निराकरण गर्न महतले नेता कार्यकर्तालाई आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।