काठमाडौं– नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला अदालत तनहुँमा मुद्दा दायर भएका पल (पूर्णविक्रम) शाहको अदालती बयान गराइएको छ। जिल्ल्ला अदालत तनहुँका स्रेस्तेदारका अनुसार उनको बयान हिजै गराइएको थियो। मंगलबार छिटै मुद्दा दायर भएकाले दर्ता भए लगत्तै शाहले अदालती बयान दिएका छन्।
दिउँसो ३ बजेदेखि उनलाई अदालत अभियोग पत्रसँगै पेस गरिएको थियो। तनहुँमा उजुरी दर्तापछि उनी जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएका थिए। प्रहरीले उनलाई अनुसन्धानका लागि म्याद थपेर न्यायिक हिरासतमा राखेको थियो। ‘हिजो ३ बजेदेखि ५ बजेसम्म शाहको बयान लिइएको छ,’ स्रेस्तेदार मीनबहादुर कुँबरले भने, ‘अब उनका म्यानेजर कृष्णप्रसाद जोशीसँग बयान लिइन्छ। अनि मात्र थुनछेको प्रक्रिया सुरु हुन्छ।’
सरकारी वकिल कार्यालयले मंगलबार शाहविरुद्ध १२ देखि १४ वर्षको कैद सजाय माग गरी जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो। मतियारका रुपमा पक्राउ परेका शाहका म्यानेजर कृष्णप्रसाद जोशीलाई पनि सोही अभियोगका कारबाही हुनुपर्ने माग गरिएको छ। नाबालिगलाई शारीरिक सम्वन्ध बनाउन दवाव दिएर वाध्य पार्ने कार्यमा सहयोग गरेको आरोप उनीमाथि लगाइएको छ।
उनले बयानका क्रममा आफूलाई तलब दोब्बर पार्ने आश्वासान पल शाहले दिएको बताएका छन्। सम्भवतः जोशीको बयान आज १ बजेसम्म सकिन्छ। उनको बयान लगत्तै सरकारी पक्षले बहसको सुरुवात गर्नेछ। सरकारी पक्षले बहस गरेपछि शाहका कानुन व्यवसायीले बहस गर्नेछन्। दुवै पक्षको वहसपछि जिल्ला न्यायाधीशको एकल इजलासले पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा रिहा गर्ने आदेश गर्नेछ।
सरकारी पक्षले ३ जना बहसमा ल्याउने तयारी गरेको छ भने शाह पक्षका ६ जना कानुन व्यवासायी उतार्ने तयारी रहेको छ। प्रतिरक्षा बहसका लागि शाहको पक्षले काठमाडौंबाट समेत केही कानुन व्यवसायी उतार्ने प्रयास गरेको छ। पीडितका तर्फबाट राष्ट्रिय मानव अधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारीसहितको महिला अधिवक्ताहरुको टिम नै बहसका लागि पुगेको छ।
यी सवैको बहसपछि अदालतले आदेश सुनाउने भएकाले केही समय लाग्ने जिल्ल्ला अदालतले जनाएको छ। शाहविरुद्ध यो दोस्रो मुद्दा हो । यसअघि पूर्वीनवलपरासीमा उनी विरुद्ध उस्तै अभियोगमा मुद्दा दायर भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।