प्रतिकात्मक तस्बिर
काठमाडौं– काठमाडौंमा चल्ने यात्रुवाहक बसमा छुटेको ३ लाख ५० हजार रकम प्रहरीले खोजतलास गरी सम्बन्धित धनीलाई बुझाएको छ।
बाह्रविसे घर भइ काठमाडौंको गोकर्णेश्वर बस्ने दासाङ शेर्पाको ३ लाख ५० हजार रुपैयाँ राखेको झोला सार्वजनिक बसमा छुटेको थियो। शेर्पा मंगलबार बिहान ७:३० बजेको समयमा काठमाडौंको जोरपाटी चोकबाट नारायणटार जाने बसमा चढेका थिए।
झर्ने बेला पैसा भएको झोला गाडीमै छुटेपछि खोजीमा जुटेका शेर्पाले बस नम्बर समेत याद नभएका कारण आफ्नो प्रयासले पैसा फेला पार्न सकेनन्। त्यसपछि उनले प्रहरीलाई खबर गरेका थिए।
शेर्पाले दिएको सूचनाका आधारमा प्रहरीले खोजी गर्दा उक्त रकम फेला पारी धनीलाई फिर्ता दिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।
शेर्पाले दिएको सूचनानुसार महानगरीय प्रहरी वृत्त बौद्धबाट तत्कालै मातहत एकाइका प्रहरीलाई सूचना प्रवाह गराइ उक्त रुटमा चल्ने सम्पूर्ण बसमा जाँच गरिएको थियो। सोही क्रममा महानगरीय प्रहरी प्रभाग थलीबाट खटिएको प्रहरी टोलीद्वारा यात्रुवाहक बसमा जाँच गर्ने क्रममा रत्नपार्कबाट जहरसिंहपौवासम्म चल्ने बा४ ख ६४३३ नम्बरको यात्रुवाहक बसबाट ३ लाख ५० हजार रुपैयाँ सहितको कालो झोला फेला पारेको थियो।
सार्वजनिक यातायातका सवारी साधनमा यात्रुका सामान छुट्ने गरेको सन्दर्भमा त्यस्ता सवारी साधनका चालक, सहचालकले सामान प्रहरीमार्फत सम्बन्धित धनीलाई बुझाउन सहयोग गरी प्रदर्शन गरेको सकारात्मक व्यवहारप्रति परिसरले सम्मान प्रकट गरेको छ। परिसरले गलत नियतले कोही कसैले सवारी साधनमा छुटेका उक्त सामान नबुझाई आफूले लुकाएमा मुलुकी अपराध (संहिता) २०७४ को परिच्छेद–२० को दफा २४१ अन्तर्गत चोरी गर्न नहुने कसुरमा कारबाही हुने चेतावनी पनि दिएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।