जनकपुर– लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले सरकारमा सहभागिताका विषयमा छलफल भइरहेको बताएका छन्।
अध्यक्ष ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा सहभागिताका लागि आग्रह गरेको र सोही विषयमा छलफल भइरहेको बताएका हुन्।
मंगलबार जनकपुरमा आयोजित पार्टीको मधेश प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै उनले सरकारमा सहभागिताका लागि आफूहरुले नागरिकता समस्याको समाधान र मधेश आन्दोलनका क्रममा आफ्ना पार्टीका नेता, कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता लिनुपर्ने विषयलाई प्राथमिकतामा राखेको बताए।
ठाकुरले संसद्को आगामी अधिवेशनमा नागरिकतासम्बन्धी विधेयक प्रस्तुत गर्ने कुरा प्रधानमन्त्री देउवासँग भएको जानकारी समेत दिए।
उनले सरकारले आफूहरुको मागलाई ठोस रुपमा सम्बोधन गर्ने गरी पहल गरेको अवस्थामा मात्रै सरकारमा सहभागी हुने बताए।
अध्यक्ष ठाकुरले स्थानीय तहको निर्वाचनमा अहिलेसम्म कुनैपनि दलसँग गठबन्धनको विषयमा सहमति नभएको जनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।