काठमाडौं– नाबालिग गायिकामाथि बलात्कार गरेको अभियोग लागेका कलाकार पल शाह (पूर्णविक्रम शाह)सहित उनका म्यानेजर कृष्ण जोशीलाई समेत प्रतिवादी बनाएर मंगलबार तनहुँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।
जोशीलाई बलात्कार घटनाको मतियार बनाउँदै मुद्दा दर्ता गरिएको हो। उनलाई मुख्य अभियुक्त शाहलाई हुनुपर्ने सजायको आधा सजाय मागदाबी गरिएको छ।
प्रहरी अनुसन्धान अनुसार जोशीले पीडित भनिएकी नाबालिगलाई पल शाहसँग सम्बन्ध राख्न र नजिक हुन वातावरण मिलाएको देखिएको छ। त्यसपछि पीडितउपर न्याय दिलाउनका लागि वार्ता गरेको जस्तो देखिए पनि पछि पीडितलाई नै घटना दबाउन लगाएको आरोप जोशीमाथि लगाइएको छ।
अभियोगपत्रमा भनिएको छ, ‘पीडितलाई घटना घटाउन, दबाउन, उजुर नगर्न धम्कीपूर्ण म्यासेज समेत प्रवाह गरी प्रतिवादी पल शाहलाई वारदात अघि पछि मतियारको रुपमा सहयोग गरेको पाइएको छ।’
विभिन्न तथ्यबाट समेत जोशी मतियार हरेको प्रष्ट देखिएकाले उनीविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ (१) विपरित (२) अनुसार तथा सोही संहिताको दफा ३६ (१) विपरित (२) अनुसारको जबर्जस्ती करणीको मतियारको कसूरमा अभियोग लगाइएको छ।
उनलाई मुख्य अभियुक्तलाई हुने सजायको आधा सजाय मागदाबी गरिएको छ। पुष्टि भएको अवस्थामा उनलाई ६ देखि ७ वर्षसम्म कैद सजाय हुनसक्ने व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।