काठमाडौं– नाबालिग गायिकामाथि बलात्कार गरेको अभियोग लागेका कलाकार पल शाह (पूर्णविक्रम शाह) विरुद्ध मंगलबार जिल्ला अदालत तनहुँमा मुद्दा दायर भएको छ। १६ वर्षभन्दा कम उमेरकी बालिकालाई बलात्कार गरेको आरोपमा १४ वर्षसम्म कैद सजायको मागदाबी गर्दै उनीविरुद्ध मुद्दा दायर भएको हो।
अभियोग पत्रसँगै अदालतमा बुझाइएको साबिती बयानमा शाहले नाबालिग गायिकाको कोठासम्म गएको विषय स्वीकार गरेका छन्। प्रमाणका रुपमा पेस गरिएको अडियो समेत शाहले आफ्नै भएको बयान दिएका छन्। उनले भनेका छन्, ‘पीडित पक्षले पेस गरेको अडियो रेकर्डमा भएको स्वरमध्ये गर्लफ्रेण्ड–ब्वाई फ्रेण्डबीच (सम्बन्ध) हुनु भनेको नर्मल (सामान्य) हो भन्ने समेतका शब्दहरू रहेको आवाज मेरो आफ्नै हो।’
यस्तो छ शाहको बयान
२०६९ सालमा कलाकारिता क्षेत्रमा प्रवेश गरी नेपाली चलचित्रमा नायकको भूमिका निर्वाह गर्दै म्युजिक भिडियोहरुमा अभिनय समेत गर्दै आएको छु। सोही क्रममा राम्रो स्वर भएकी गायिका १६ वर्षीयासँग गत असोज २२ गते काठमाडौं साँखुमा भेट भइ चिनजान भएर फोन नम्बर आदान–प्रदान भएको थियो। त्यसपछि हामीहरुबीच फोन तथा सामाजिक सञ्जाल (म्यासेन्जर)मा कुरा हुने गर्थ्यो।
म्युजिक भिडियो सुटिङ गर्ने क्रममा हामीहरु विभिन्न स्थानमा गइ बस्ने गरेका थियौं। गत वैशाख १४ गते साँझ तनहुँ दुलेगौंडास्थित प्रदीप थापाको घर कोठामा बास बसी राति अबेरसम्म बियर खाँदै पीडित र मैले म्यासेज आदान प्रदान गरेका थियौं। राति अन्दाजी पौन १२ बजेतिर खाइ बाँकी रहेको बोतलको बियर लिएर पीडित भनिएकी गायिका सुतेको कोठामा गइ ढोका धकेली भित्र पसेको हुँ। उनलाई बियर खान दिइ, फेसवास लिएर म आफ्नो कोठामा गइ कमल खत्रीसँग सुतेको हुँ।
पीडित भनिएकी नाबालिगले गत जेठ महिनाको अन्तिमतिर मलाई फोन गरी तपाइँ र मेरो सम्बन्ध अरुले थाहा पाए, मलाई गाह्रो भयो, मेरो महिनावारी रोकियो, तपाइँले मलाई स्वीकार्नु पर्छ भन्ने समेतको शब्दहरु म्यासेजमा मलाई प्रेसित गरेकी थिइन्। गत असार महिनामा काठमाडौंको बानेश्वरमा पीडित, पीडितको आमा, गायन क्षेत्रका दुर्गेश थापा, सरोज ओली, योगेश काजी, मेरो मेनेजर कृष्ण जोशी र म समेत भइ छलफल गर्ने क्रममा पीडित पक्षले मलाई पीडितलाई तिमीले विवाह गर्नुपर्छ भनेकाले मैले पीडितको उमेर पुगेपछि विवाह गरौंला, अहिले केटीको उमेर पुगेको छैन भनेको थिएँ। पीडित १८ वर्षभन्दा कम उमेर नाबालिका हुन भन्ने कुरा मलाई पूर्णरूपमा थाहा जानकारी थियो।
पीडित पक्षले पेस गरेको अडियो रेकर्डमा भएको स्वरमध्ये गर्लफ्रेण्ड–ब्वाई फ्रेण्डबीच हुनु भनेको नर्मल (सामान्य) हो भन्ने समेतका शब्दहरू रहेको आवाज मेरो आफ्नै हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।