काठमाडौं- अभिनेत्री करिष्मा मानन्धरले एमाले पस्ने पहिलो कारणमा अध्यक्ष केपी शर्मा ओलीको ऊर्जाबाट आफू 'ताज्जुब' भएको बताएकी छिन्। एमालेले प्रतिपक्षका रुपमा निर्वाह गरेको सशक्त भूमिका र यसले परिवर्तनका लागि गरेको योगदानले पनि यतातिर लाग्न प्रेरित गरेको बताएकी छिन्।
उनले भनिन्, 'यो पार्टीमा किन त? भन्ने कुरामा पहिलो अध्यक्ष ओली नै हुनुहुन्छ। उहाँलाई फुर्काउन भनेको होइन। नेता भनेको जनताको अगुवा हो। पथप्रदर्शक हो। त्यसमा क्षमता र कुशला हुनुपर्छ। म ओलीको सक्रियता र ऊर्जाबाट ताज्जुब भएकी छु।'
आफूले मात्रै नभइ देशमै ओलीको गुणगान गाएको सुनेको उनले बताइन्। अर्को दलको कार्यकर्ताले पनि ओलीको ऊर्जाको प्रशंसा गर्ने गरेको पाएको बताइन्।
आफूले कलाकारका रुपमा तीन दशक देशकै लागि योगदान गरेपनि यतिमै रोकिनुहुँदैन भनेर सक्रिय राजनीतिमा लागेको उनको भनाइ छ। उनले थपिन्, 'कलाकारको नाताले मैले तीन दशक काम गरें। मिहिनेत, संघर्ष गरें। मुलुकका लागि नै गरें। राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा कलाकारका रुपमा चिनिएँ। पछाडि फर्केर हेर्दा त्यो मात्रै सबै हो त? त्यहाँ भन्दा अघि जाने ठाउँ छैन त? यो पछिल्ला समयमा आएर मैले राजनीतिमार्फत् अघि बढ्नुपर्छ भन्ने लाग्यो।'
उनले कुनै प्राप्तिका लागि नभइ योगदान गर्नका लागि एमालेमा पुगेको बताइन्। आफूले सक्रिय हुन निश्चित जिम्मेवारी अपेक्षित हुने उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।