काठमाडौं– बच्चाका कानका मुन्द्रा चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरु म्याग्दी घर भइ पोखरा–२ बिन्दाबासिनी बस्दै आएकी २५ वर्षीया अम्बिका पुलामी मगर, पोखरा राष्ट्र बैंक चोक बस्ने ६४ वर्षीय थमन सिंह विश्वकर्मा र सोही ठाउँ बस्ने २७ वर्षीय नितेश विश्वकर्मा छन्।
कास्कीको टुडिखेलस्थित राष्ट्रिय माविको गेट अगाडि सार्वजनिक सडकबाट सोही विद्यालयमा अध्ययनरत दुई जना ९ वर्षीया बालिकाले कानमा लगाएको मुन्द्रा यो समूहले चोरी गरेको थियो।
उक्त घटनाको अनुसन्धानको क्रममा चैत ४ गते घलेगाउँ चोक सडकखण्डबाट पुलामी मगरलाई प्रहरीले पक्राउ गरेको थियो।
चोरी भएका दुई जोर मुन्द्रा उनले राष्ट्र बैंक चोकस्थित रोयल पञ्चासे सुनचाँदी पसलका सञ्चालक थमनसिंहलाई ५ हजार ९८ सयमा बेचेकी थिइन्। थमनसिंहले समेत ती मुन्द्रा नितिशा ज्वेलर्सका सञ्चालक नितेशलाई ७ हजार ९ सय मा बेचेका थिए।
चोरी भएको सामानसमेत किनेको पाइएपछि उनीहरु दुई जनालाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ। चोरी तथा डाँका कसुरमा ६ दिनको म्याद तीनै जनामाथि अनुसन्धान भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।