काठमाडौं– नेपाली सेनाको क्याप्टेनको रवाफ देखाएर ठगी धन्दा सञ्चालन गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले ठगीको आरोपमा ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–५ घर भइ पोखरा बस्दै आएका ३८ वर्षीय अर्जुन कटुवाल भनिने धनबहादुर परियारलाई पक्राउ गरेको छ ।
ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभको कसुरमा ७ दिनको म्याद लिएर उनीमाथि अनुसन्धान भइरहेको छ। अनुसन्धानको क्रममा उनी भगौडा सेनाका सिपाही रहेको खुलेको छ। २०६१ सालमा आर्मी छाडी भागेका उनले बहिनीलाई सेनाको सिपाहीमा भर्ना गराइदिने र त्यसका लागि १ लाख ५० हजार रुपैयाँ लाग्ने भन्दै ५० हजार रुपैयाँ लिएर ठगी गरेको खुलेको छ।
आफू क्याप्टेन अर्जुन कटवाल रहेको हाल मिसनमा विदेशमा रहेको, सेनाका ठूला–ठूला व्यक्तिसँग राम्रो चिनजान रहेको भन्दै उनले सिंगापुर पुलिस, सेनाको क्याप्टेन, सिपाही जागिर लगाइदिने भन्दै ठगी गर्ने गरेका थिए । यसरी फेसबुकमा भ्रमपूर्ण कुराकानी गरेर विश्वासमा पार्दै उनले ठगी धन्दा चलाएको कास्कीका डीएसपी सुन्दर तिवारीले बताए।
जागिर लगाइदिने भन्ने प्रलोभन देखाएर विभिन्न व्यक्तिको खाता तथा आइएमईमार्फत रकम जम्मा गर्न लगाउँदै उनले ठगी गर्दै आएका थिए। उनले जाहेरवाला सिर्जना तामाङका दुई जना भाइलाई सिंगापुर पुलिसमा भर्ती गराइदिने भन्दै त्यसका लागि १५ लाख लाग्ने भन्दै ५ लाख रुपैयाँ अग्रिम लिएर ठगी गरेको खुलेको छ।
त्यस्तै जाहेरवाला सरिता खड्काको बहिनीलाई समेत सेनाको सेकेन्ड लप्टनमा जागिर लगाइदिने भन्दै ४ लाख २५ हजार रुपैयाँ लिई ठगी गरेको खुलेको छ।
परियारको साथबाट प्रहरीले लाइसेन्स, अर्जन कटवाल नामको एसएलसीको नक्कली सर्टिफिकेट, मार्कसिट, प्रेरणा इंग्लिस बोर्डिङ स्कूलको चारित्रिक प्रमाणपत्र, नेपाली सेनाको सहसेनानी अर्जुन कटवालको नाममा बनाएको नक्कली परिचय पत्र, सहसेनानीको दर्ज्यानी चिह्न, चेसप्लेट लगाएको नेपाली सेनाले प्रयोग गर्ने चुस्ता एक जोर बरामद गरेको छ।
त्यसैगरी सेनाको सादा हरियो ज्याकेट, बेल्ट, दापसहितको खुकुरी, तुमलेट, सेनाको लोगो भएको गेमड्रेस, ट्रयाकसुट पनि बरामद भएको छ। विभिन्न व्यक्तिहरुको नामको उपसेनानी पदको भर्ना छनौट निर्देशनालयको कार्यरती विभागको जंगी अड्डा उम्मेदवारहरुको फारम, सिपाहीको खाली र भरेको परिचयपत्र, अर्जुन कटवालको नाममा बनाएको जग्गाधनी पूर्जा, अर्जुन कटवालकै नाममा रहेको एक थान मोटरसाइकलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।