काठमाडौं– मलद्वारभित्र लुकाएर सुन ल्याउने एक भारतीय नागरिकलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालय प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा अनुसन्धान गर्दा सुन मलद्वारमा लुकाएर ल्याएको पाइएपछि उनलाईे शौच गर्न लगाएर सुन निकालिएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख भीमप्रसाद ढकालले जानकारी दिए।
सुन लुकाएर ल्याउनेमा भारतीय नागरिक ३८ वर्षीय शुभम मेहरा रहेका उनले बताए। उनले लुकाएर ल्याएको सुन एक हजार २६८ ग्राम रहेको प्रहरीको भनाइ छ। । उक्त सुनको मूल्य १ करोड आठ लाख ४९ हजार रहेको जनाइएको छ।
नेपाल एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौँ आएका उनको गतिविधि शंकास्पद देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रणमा लिइएको थियो।
हरियो रङको टेपले बेरिएको प्लाष्टिकभित्र बेलनाकार बनाइ ल्याइएको दुई थान अर्धठोस सुनको पोका बरामद गरिएको प्रहरीले जनाएको छ। उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।