काठमाडौं– मध्यान्ह १२ बजेको चर्को घाम। खलखल पसिना बगाउने। तर, घामको प्रवाह नगरेर हातमा फाइल बोकेका मानिसको प्रहरी परिसर काठमाडौंको परिसरमा ठेलमठेल लाइन। जो म्यादी प्रहरी बन्नका लागि आवेदन बुझाउन पुगेका थिए। त्यही लाइनमा भेटिए कीर्तिपुर नगरपालिका चारघरेका ५१ वर्षीय शिव राउत। उनी छैटौंपटक म्यादी प्रहरी बन्नका लागि घामको प्रवाह नगरेर लाइन लागेका छन्।
उसो त राउतको सपना प्रहरी बन्ने थियो। उनी प्रहरी त बन्न सकेनन् तर, २०४८ सालदेखि निरन्तर म्यादी प्रहरी भने बनिरहेका छन्। यसपटक पनि उनी म्यादी प्रहरी बन्ने ध्याउन्नमा छन्।
उनी कीर्तिपुरमा तरकारी खेती गर्दै आएका छन्। श्रीमती, दुई छोरी र एक छोरासहित बस्दै आएका उनको कृषि नै जीविकोपार्जनको प्रमुख आधार हो। उनका दुवै छोरी स्नातकोत्तर पढिरहेका छन्। छोराले पढाई सकेर काम गरिरहेका छन्।
उसो भए भने यो उमेरमा किन म्यादी बन्न तम्सिए शिव?
भन्छन्– 'म्यादी बन्नु बाध्यता नभएर रहर हो।'
उमेर हुँदा पटक पटक प्रहरीमा भिडे। तर, सफल भएनन्। उनी म्यादी बनेर भएपनि प्रहरी बन्ने आफ्नो रहर पूरा गरिरहेका छन्।
प्रहरीप्रति मोह जाग्नुमा उनको पारिवारिक पृष्ठभूमिले पनि काम गर्यो। उनका हजुरबुवा, बुवा प्रहरी भएका थिए। शिवका काका र कान्छो भाइले पनि प्रहरीमै सेवा गरे।
प्रहरीको बर्दी लगाएर देशको सेवा गर्ने सपना बुनेका उनी म्यादी नै भए पनि आफ्नो केही रहर पूरा भएको ठान्छन्। म्यादीमा भने उनले जतिपटक आवेदन दिए त्यतिपटक सफल भए। यसपटक पनि सफल हुने उनको विश्वास छ।
छोरीलाई प्रहरी बनाउन खोज्दा विचौलियाले दुई लाख मागे
शिव आफू त प्रहरी बन्न सकेनन् नै, उनले प्रहरी बन्ने सपना छोरीमा देख्न थाले। र, कान्छी छोरीलाई प्रहरीमा आवेदन दिन लगाए। विडम्बनाा! छोरीको पनि नाम निस्किएन।
एकजना विचौलियाले दुई लाख दिए छोरीलाई प्रहरी बनाइदिने भनेर रकम मागे। तर, शिवले दिएनन्। कथं छोरी प्रहरी भइनन् भने दुई लाख डुब्ने उनको चिन्ता थियो। आफ्नै बुताले भए ठीक। नत्र कसैलाई पैसा नखुवाउने उनले प्रण गरे।
बरु छोरालाई पनि प्रहरीमा ‘ट्राई गर्न’ भने। तर, छोराले मानेनन्। ‘हाम्रो दुई पुस्ता प्रहरीमा थियो। घरको इज्जत धान्न भएपनि प्रहरी बन् भनेको छोराले मानेन’, रेकर्ड फाइलले घाम छेक्दै उनले भने।
२०४८ सालदेखि निरन्तर म्यादी
कीर्तिपुरको रैथाने परिवाका हुन् शिव। कृषि कर्मले जसोतसो खान–लाउन पुगेकै छ। अब छोराछोरी पनि ठूला भए। घरमा छोराछोरीले बेलाबेला शिवलाई जिस्काइराख्छन्। अहिले म्यादीमा भर्ना हुन्छु भन्दा श्रीमतीले पनि व्यंग गरिन्, ‘मर्ने बेला हरियो काँक्रो।’
तर, उनले वास्ता गरेनन्। म्यादीको भर्ना खुल्यो भन्नेबित्तिकै उनी कागजात बोकेर प्रहरी परिसर पुगिहाले। उनी म्यादीका लागि आवेदन दिन जाँदैछन् भन्ने थाहा पाएपछि छिमेकीले भनेछन्, ‘म्यादी काकालाई फेरि दशैं आयो।’
यसअघि पाँचपटक म्यादी बनिसकेका उनलाई आफन्त र छरछिमेकीले 'म्यादी काका' भनेर जिस्काउँछन्।
उनी पहिलो पटक २०४८ सालमा म्यादी प्रहरी बनेका थिए। जतिबेला उनी २१ वर्षका थिए। तालिम सकाएर उनी काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ७ को चाल्नाखेल निर्वाचन केन्द्रमा खटाइए। त्यतिबेला उनले म्यादी भएर एक हजार रुपैयाँ पाएका थिए।
२०५१ सालमा मध्यावधि चुनाव भयो। उनी फेरि म्यादी प्रहरी भने। एकचोटी म्यादी भइसकेका व्यक्तिले दोस्रोपटक प्राथमिकता पाउँथे। २०५१ सालमा उनी बानेश्वरमा रहेको बागमती क्याम्पसको बुथमा खटिए।
‘त्यो बेलाको रमाइलो नै छुट्टै हुन्थ्यो। तर, प्रहरीले भने खान नपाएर आएको जस्तो व्यवहार गर्दा भने मन अमिलो हुन्थ्यो’, शिव विगततर्फ फर्किए।
उनी २०७० को दोस्रो संविधासभा निर्वाचन, २०७४ मा भएको स्थानीय तह र संघीय निर्वाचनमा पनि म्यादी प्रहरी बने। यसपटक म्यादी बने भने उनका लागि यो छैटौंपटक हुनेछ।
..जब आफ्नै अगाडि सिलिण्डर बम पड्कियो
२०७४ सालको प्रतिनिधि सभा निर्वाचनका बेला उनी फर्पिङको डुडेचौर बुथमा खटिएका थिए। त्यसबेला बुथमा सिलिण्डर बम प्रहार भयो। सौभाग्य कुनै मानवीय क्षति भएन।
त्यो बेलाको घटनाले भने शिवका परिवार डराउँछन्। यसपटक पनि म्यादीमा भर्ना हुन नजान भने। तर, उनले मानेनन्। मिल्यो भने संघको चुनावमा पनि म्यादी हुने उनको रहर छ।
‘त्यसपछि त उमेर पनि कटिहाल्छ। घरकाले नजाऊ भन्नै पर्दैन’, हल्का हाँस्दै शिव म्यादीको आवेदन बुझाउने लाइनमा अघि बढे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।