काठमाडौं–मोरङको लेटाङ नगरपालिका–५ मा प्रहरी जवान उर्मिला श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। लेटाङ–५ को शिक्षा विकास माविका एक १४ वर्षीया छात्रालाई शिक्षकले दुर्व्यवहार गरेको भनिएको घटनाबाट सिर्जित तनावमा झडप हुँदा जवान श्रेष्ठको आइतबार मृत्यु भएको थियो।
जवान श्रेष्ठको घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो। हत्यामा संलग्न भएको आरोपमा पाँच जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङ प्रहरी प्रमुख तथा एसपी जनार्दन जिसीले जानकारी दिए। पक्राउ परेकाहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन।
उनीहरुमाथि सोधपुछको काम भइरहेको प्रहरीले जानकारी दिएको छ। गत शुक्रबार एक छात्रालाई होली खेल्ने क्रममा शिक्षक मनोज पौडेलले दुव्र्यवहार गरेको आरोप लागेको थियो।
दुर्व्यवहारको आरोप लागेका शिक्षक पौडेललाई आइतबार प्रहरीको जिम्मा लगाउने तयारी थियो। त्यसबारेमा स्थानीय र शिक्षकहरुबीच छलफल समेत भएको थियो। तर आक्रोशित भीडले शिक्षकलाई नै आक्रमण गर्न सक्ने अवस्था आएपछि प्रहरीलाई खबर गरिएको थियो। प्रहरी टोली घटनास्थल आएर शिक्षकलाई आक्रमण हुनबाट जोगाएको थियो।
त्यसपछि भीड झनै आक्रोशित हुँदा झडप भएको थियो। आक्रोशित भीड मध्येका केहीले जवान श्रेष्ठमाथि घाँटीमा धारिलो हतियार प्रहार गरेको थियो। त्यसपछि रक्ताम्य भएकी उनी गम्भीर घाइते भएकी थिइन्। आइतबार राति नै कोशी अस्पताल पुर्याइएकोमा डाक्टरले मृत घोषित गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।