काठमाडौं– जग्गा बैना रकम लिई ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ललितपुर घर भई धुलिखेल बस्दै आएका ४९ वर्षीय ध्रुवप्रसाद घिमिरे छन्।
उनलाई महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरी टोलीले चैत ४ गते दरबारमार्गबाट पक्राउ गरेको हो। उनले मोरङकी ४० वर्षीया सीमा सुवेदीलाई जग्गा बेच्ने भनेर ४५ लाख ५० हजार रुपैयाँ बैना लिई ठगी गरेको आरोप लागेको छ।
भक्तपुरको साविक दुवाकोट गाविस (ग) १ का कित्ता नम्बर ८०३, ७२८, ७२९ का जग्गाहरू देखाई ७८२ बाट कित्ताकाट गरी ४ आना २१ लाख रुपैयाँका दरले बेच्ने भनेर सीमाबाट बैनावापत ४५ लाख ५० हजार रुपैयाँ लिएक थिए।
उक्त रकम लिएर जग्गा पास गर्नुको साटो सम्पर्कविहीन भएका थिए। त्यसपछि मालपोतमा गएर बुझ्दा उक्त जग्गा घिमिरेको नभई अर्कै व्यक्तिको रहेको खुलेको थियो। त्यसपछि सीमाले आफू ठगिएको थाहा पाएर प्रहरीमा उजुरी दिएकी थिइन्।
पक्राउ परेका घिमिरेलाई थप अनुसन्धान र कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।