काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ जना महिला विदेशी मुद्रासहित पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२ बस्ने ५६ वर्षीया सहनशीला बज्रचार्य र गोरखाको बोर्लाङ–८ घर भइ काठमाडौं महानगरपालिका–१३ बस्ने २३ वर्षीया रञ्जिता श्रेष्ठ छन्। प्रहरीले बज्रचार्यलाई शुक्रबार र श्रेष्ठलाई शनिबार पक्राउ गरेको हो।
नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट संयुक्त अरब ईमिरेट्सको दुबई जान लागेकी बज्रचार्यलाई प्रहरीले युरो ७ हजार ७००, क्यानेडियन डलर १ हजार ९००, ओमानी रिअल ३३, र साउदी रियाल १३ हजारसहित पक्राउ गरेको हो।
यस्तै, कतार एयरवेजको उडानद्वारा काठमाडौंबाट दोहा हुँदै अस्ट्रेलियाको सिड्नी जान लागेकी श्रेष्ठलाई अस्ट्रेलियन डलर १९ हजार ६०० र र अमेरिकी डलर ४२ सहित पक्राउ गरिएको प्रहरीको विमानस्थल सुरक्षा कार्यालयले जानकारी दिएको छ।
विमानस्थलबाट पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागमा बुझाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।