काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमारले आफ्नो पार्टी तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को निरन्तरता भएको बताएका छन्। शनिबार गोरखामा आयोजित कार्यक्रममा उनले एमाले पनि अब एमाले नरहेको बताए।
'नेकपा एमाले अब नेकपा एमाले रहेन। त्यसलाई 'बीमाले' भन्नुहोस्। त्यो 'सीमाले' बनिसकेको छ। सूर्यमा ग्रहण लागिसकेको छ। त्यसको कुनै अर्थ छैन', उनले भने, 'त्यसैले मूलधारको पार्टी हामी हौँ। त्यसैले सबैले हाम्रो पार्टीको महत्त्व बुझेका छन्। महत्त्व बुझिसकेपछि मान्छेले त्यसको खोजी गर्छ।'
नेपालले अरु पार्टी छाडेर एकीकृत समाजवादी प्रवेश गर्नेहरुको लहर चलेको बताए। साना–साना खोला खोल्सीहरु मूल प्रवाहमा जोडिँदै गएको उनको भनाइ छ। उनले तत्कालीन नेकपामा पुष्पलालले विद्रोह गरेजस्तै आफूहरुले एमालेबाट विद्रोह गरेको बताए।
उनले एमालेमा छँदा केपी ओली सुध्रिन्छन् कि भनेर प्रयत्न गरेको, तर उनी नसुध्रिएको बताए। ओलीले पार्टीका बहुमत मान्छेहरुलाई आफ्नो हातमा राखेर पार्टीलाई नै प्राइभेट कम्पनी जस्तो बनाएको नेपालको आरोप छ।
'विचार पनि गलत, दृष्टिकोण पनि गलत, पार्टी सञ्चालनको विधि र पद्धति पनि गलत। त्यति मात्रै होइन, उनको संगत पनि गलत। दरबारियाहरुसँग संगत। विदेशीहरुको नजिक भएका पार्टीहरुसँगको संगत। यो सबै कारणले गर्दा उनमा दक्षिणपन्थी भड्काउ देखियो। क्रान्तिकारी धारणा भुत्ते भएर गयो। क्रान्तिकारी दृष्टिकोण हराएर गयो। जनताप्रतिको निष्ठा र समर्पण होइन, भ्रष्टाचारमा चुर्लुम्म डुब्न पुग्यो। काम केही पनि नगर्ने, गफ मात्रै हाँक्ने गफाडीहरुको पंक्ति तयार भयो', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।