काठमाडौं- प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसलाई आगामी निर्वाचनमा १३ सिटमा झारिदिने चेतावनी दिएका छन्। त्यसका लागि चुनावी अभियानमा केन्द्रित हुन उनले कार्यकर्तालाई निर्देशन दिए।
पार्टीको सम्पर्क समन्वय कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले ६० वर्ष नाघेका कुनै पनि ज्येष्ठ नागरिकहरुले कांग्रेसलाई भोट नहाल्ने दाबीसमेत गरे। उनले कांग्रेस बुढो भएको तर्क गरे।
‘बुढो कांग्रेस पाँच वर्ष अघि २३ सिटमा झरेको होइन? कांग्रेसलाई १३ सिटमा झारिदिनु पर्छ अहिले, लाग्नुस तपाईहरु। बुढाबुढी, ज्येष्ठ नागरिकहरुले साठी वर्ष माथिका ज्येष्ठ नागरिकहरुले काँग्रेसलाई भोट हाल्दैनन् । अनि युवाहरु काँग्रेस, माओवादीबाट चेतिसकेका छन । उनीहरुले पनि काँग्रेसलाई भोट हाल्दैनन्’ उनले भने।
कांग्रेस, माओवादी केन्द्रलगायतका सत्तारुढ दलहरुले चेताइसकेको हुनाले युवाहरुले पनि ती पार्टीहरुलाई मत नदिने उनको तर्क थियो। अध्यक्ष ओलीले माओवादी केन्द्रलाई गत संसदीय निर्वाचनमा आफूहरुले जोगाई दिएको र माधव नेपालहरु अबको निर्वाचन पछि समाप्त हुने दाबी गरे।
‘एमालेलाई चौंथो पार्टी बनाउछु भन्छ कोही। अहिले चौंथो पार्टी हो एमाले संसदमा? संसदमा एमालेसँग ९८ सिट छ। अरुको धेरै भएकाको पनि ६१ सिट छ। कोही हामीले बनाइदिएको ४८ सिटा लिएर हामीले टाँसी दिएको जुँगामा ताउ लाउँछ। त्यसकारण म साथीहरुलाई भन्न चाहन्छु–यो गठबन्धन केही होइन।’
ओलीले स्थानीय तह निर्वाचनको परिणामले गठबन्धनको निद हराउने बताए।
अदालतबाट बनेको वर्तमान सरकारलाई जनताको मटबाट हराउने उनको भनाइ थियो। ‘अब हामीले निर्वाचनको प्रतिक्षा गर्नुछ । र, निर्वाचनमा विजय हासिल गर्नुछ। हामीले यस निर्वाचनबाट पछिल्लो प्रादेशिक र संसदीय निर्वाचनहरुको झलक दिनुछ, ताकि यिनीहरुको मनमा अहिल्यैदेखि ढ्याङ्ग्रो ठोकियोस्। अहिल्यैदेखि निन्द्रा लाग्न छोडोस्। यिनलाई अहिल्यैदेखि निन्द्रा लाग्न छोडोस । यो गर्ने भनेको स्थानीय तह निर्वाचनमा हो। म यहीँ उत्साह बोकेर जान आग्रह गर्दछु। ’
अध्यक्ष ओलीले विभिन्न जालझेल, तिकडम र षडयन्त्र गरेर आफ्नो पार्टीलाई सरकारबाट हटाउने काम गरेको भन्दै अब फेरी हटनुनपर्ने गरी पार्टीले आगामी निर्वाचनमा जित हासिल गर्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।