काठमाडौं- संयुक्त अरब इमिरेट्स (युएई) को भ्रमणका क्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपाली बिजनेस काउन्सिल, दुबईका पदाधिकारीहरुले भेटवार्ता गरेका छन्।
काउन्सिलका अध्यक्ष डा. असिफ अली सिद्दिकी नेतृत्वमा नेपाली व्यवसायीहरुले मन्त्री श्रेष्ठसँग वैदेशिक रोजगारीसँगै विदेशमा नेपाली उत्पादन र सेवाको बजार विस्तार गर्नेतर्फ पनि सरकारले ध्यान दिनुपर्ने बताएका थिए।
वैदेशिक रोजगारमा जाने अदक्ष श्रमिकहरूले विभिन्न समस्या झेल्दै आएको भन्दै आवश्यक सीप–दक्षताको विकासमा पनि सरकारले ध्यान दिनुपर्ने उनले बताए।
मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीको क्षेत्र व्यवस्थित र सुरक्षित गर्न आफू प्रयत्नशील रहेको बताएका थिए। मन्त्री श्रेष्ठले विदेशमा नेपालीले आर्जेको सीप र पूँजी नेपाल भित्र्याउन सहयोग गर्ने प्रतिवद्धता समेत जनाए। नीतिगत र व्यवहारिक पक्षमा लगानी मैत्री वातावरण बनाउन सरकार प्रतिवद्ध रहेको उनको भनाइ छ।
व्यवसायीहरुले युएईमा भिजिट भिसाबाट सिर्जित समस्याको उपचारमात्र होइन, निर्मुल नै पार्नुपर्ने बताए। भिजिट भिसा सम्वन्धी समस्या समाधानका लागि युएई सरकारसँग मिलेर काम गर्ने बताउँदै मन्त्री श्रेष्ठले सकेसम्म युएई मै रोजगारी, ओभरस्टे भएर धेरै शुल्क बुझाउनुपर्ने भएकाहरुलाई मिनाहा गर्न र नेपाल लैजानैपर्नेहरुलाई उद्धारमा सहयोग गर्ने प्रतिवद्धता युएई सरकारले जनाएको बताए।
नेपाली बिजनेस काउन्सिलका पदाधिकारीहरुले युएईमा ब्यापारको राम्रो अवसरका साथसाथै यसका चुनौतीका बारेमा मन्त्री श्रेष्ठलाई जानकारी गराएका थिए। नेपाली बिजनेस काउन्सिल यूएईको दुबईमा व्यापार गरिरहेका नेपाली व्यावसायीहरुको सरकारी निकायमा दर्ता भएको व्यापारिक संस्था हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।