काठमाडौं- नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले आफूले नै वृद्धभत्तालगायतको व्यवस्था गरेको बताएका छन्।
गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकमा पुगेका उनले 'जुन जोगी आएपनि कानै चिरेका' भन्ने स्थानीयको भनाइको खण्डन गर्दै यस्तो बताएका हुन्।
२०५१ सालमा एमालेको सरकारले वृद्ध भत्तालगायतका सामाजिक सुरक्षा अघि सारेको र उक्त सरकारमा आफू उपप्रधानमन्त्री रहेको नेपालले स्मरण गरे।
उनले भने, 'मभन्दा अघि बोल्ने एकजनाले जुन जोगी आएपनि कानै चिरेका भन्नुभयो। भत्ताको व्यवस्था कसले गर्यो? म माधव नेपाल उपप्रधानमन्त्री पार्टी (एमाले)को मूल नेता थिएँ। भत्ताको व्यवस्था गर्ने म यहाँ आएको छु।'
उनले वृद्धभत्तालाई सय रुपैयाँबाट आफूले तीन हजार पुर्याएको बताए। उनले स्थानीयलाई व्यंग्य कसे, 'भत्ता दिन मान्छे यहाँ आउँदा हृदय गदगद भएको छ भन्नुपर्ने होइन? हिउँ पर्दा कठ्यांग्रिदो रहेछ कि के हो बिर्सिनुभएछ।'
आफू सरकारमा रहेका बेला २०५१ सालको सरकारले देशका चार हजार गाउँलाई सम्झिएको बताउँदै अहिले स्थानीय तहका रुपमा करोडौं बजेट पुगेको नेपालले उल्लेख गरे।
उनले भने, 'हामीले वर्षको तीन लाख रुपैयाँ दिएका थियौं। आफ्नो गाउँ आफैं बनाउँ भनेर। अहिले ३० करोड पुगेको छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।