काठमाडौं- सनराइज बैंकले बचत खातामा यसअघि दिँदै आएको सेवा तथा सुविधामा यस वर्ष परिमार्जन गरी थप सुविधा दिने भएको छ।
सनराइज बैंकमा बचत गर्दा ग्राहकहरूले बचत र ब्याज मात्र हैन, बचतकर्ताको स्वास्थ्यमा केही समस्या आइपरेमा त्यसको उपचार गर्दा लाग्ने खर्चसमेत पाउन सक्ने बैंकले बताएको छ।
बैंकले स्वास्थ्य बीमाअन्तर्गत अस्पताल भर्ना र ओपीडी खर्च गरी १ लाख रुपैयाँसम्मको बीमा दिएको छ। उक्त बीमा रकम वर्षमा तीन पटकसम्म गरी दाबी गर्न सकिनेछ। साथै ५ लाखसम्म दुर्घटना बीमा पनि दिइएको छ।
बैंकका अनुसार पहिले नेपाल र भारतका १५ वटा अस्पतालमा गरिएको उपचारमा मात्र बीमा दिइँदै आएकोमा यस वर्षदेखि नेपाललगायत भारतका ७० वटा अस्पताल तथा सिङ्गापुर र थाइल्यान्डका अस्पतालमा पनि उपचार गराउँदाको खर्च स्वास्थ्य योजनाअन्तर्गत दाबी गर्न सकिनेछ।
साथै, नारीहरूलाई बचत गर्न उत्प्रेरणा र उनीहरूको स्वास्थ्य सुरक्षामा साथ दिने उद्देश्यस्वरुप बैंकले नारी बचत खाता भएका महिलाहरूलाई ५ लाखसम्मको घातक रोग खर्च दिने भएको छ। महिलाहरूमा हुन सक्ने पाठेघरको क्यान्सर, स्तनक्यान्सर, मुटुरोगलगायतका १८ वटा घातक रोगहरू यसले समेट्नेछ।
साथै, महिलाहरूलाई प्रसूतिखर्चस्वरुप दश हजार रुपैयाँसम्म दिइने बैंकले जनाएको छ। उक्त प्रसूति खर्च भने सरकारी तथा अर्धसरकारी अस्पतालमा प्रसूति गराउँदा लिन सकिनेछ। हाल उपलब्ध सबै खाले बचत खातामा यो सुविधा उपलब्ध छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।