काठमाडौं– नेकपा माओवादी केन्द्रको मधेश प्रदेश कमिटीले विवादका कारण अझै पूर्णता पाउन सकेको छैन। माओवादीले सबै प्रदेश कमिटीको टुंगो लगाएपनि मधेश प्रदेश कमिटी २७१ सदस्यीय मात्र छ। जहाँ पदाधिकारी बन्न सकेको छैन।
नेता मातृका यादव र नारायणकाजी श्रेष्ठनिकट नेताबीच विवाद हुँदा प्रदेश कमिटीले पूर्ण रुपमा काम गर्न सकेको छैन। यसअघि प्रदेश इन्चार्ज बनाउँदा पनि विवाद भएको थियो।
अन्त्यमा प्रचण्डले नेकपा संयुक्तबाट एकतामा आएका गणेश साहलाई इन्चार्ज बनाएपछि तत्काल विवाद साम्य भएको थियो। तर, प्रदेश अध्यक्षमा भने श्रेष्ठनिकट प्रह्लाद बुढाथोकीलाई बनाइएको छ।
सबै प्रदेश कमिटीले पूर्णता पाउँदा समेत यादव गुट र श्रेष्ठ गुटका कारण प्रदेश कमिटीले पूर्णता नपाएको एक नेताले बताए। ‘तत्कालीन एकता केन्द्र मसालको सबैभन्दा राम्रो जनाधार मधेश प्रदेशमा छ। त्यहाँ आफ्नो हिस्सा धेरै खोज्छन्। त्यसपछि मातृकाजी मान्नु हुन्न’, ती नेताले भने, ‘एकले अर्काको अस्थित्व स्वीकार गर्न नसक्दा पालिका, जिल्ला र प्रदेश नेतृत्वमा विवाद भइरहन्छ।’
तर, प्रदेश इन्चार्ज गणेश साहले आगामी चैत ८ गतेभित्र प्रदेश कमिटी टुंगो लगाउने दाबी गरे। ‘हामीहरु प्रदेश कमिटी टुंगो लगाउन लागिपरेका छौं। अब अर्को हप्तासम्म कमिटीलाई पूर्णता दिन्छौं’ साहले भने।
प्रदेशका जिल्ला र पालिका नेतृत्व चयन भइसकेका छन्। तर, प्रदेश अध्यक्षमा श्रेष्ठ र यादव गुटबीच सहमति नहुँदा चयन हुन नसकेको माओवादीका अर्का नेता बताउँछन्।
हाल प्रदेश अध्यक्षको आकांक्षीमा प्रह्लाद बुढाथोकी, भरत साह, रामकुमार शर्मा लगायत नेताहरु छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।