काठमाडौं– गृहमन्त्री बालकृष्ण खाणले सत्ता गठबन्धन कायम राख्न नेपाली कांग्रेस प्रतिबद्ध रहेको बताएका छन्।
नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं ३ ‘ख’ रुपन्देहीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा गृहमन्त्री खाणले मुलुकमा आइपरेको अफ्टेरो परिस्थितिमा बनेको गठबन्धनलाई कायमै राखेर अगाडि बढ्न कांग्रेसले चाहेको बताए।
स्थानीय निर्वाचनको मिति नजिकिँदै गरेको अवस्थामा कांग्रेसका प्रभावशाली नेतासमेत रहेका गृहमन्त्री खाणले स्थानीय स्तरमा गाँउ र नगरमा विकास हुन कांग्रेसले स्थानीय तहको निर्वाचन जित्नुपर्ने बताए।
‘तल्लो तहसम्म गाउँ र नगरमा विकास हुन कांग्रेसले स्थानीय निर्वाचनमा जित्नुपर्छ। शान्ति र स्थायित्वका लागि कांग्रेसले आगामी निर्वाचन जित्नुपर्छ,’ गृहमन्त्री खाणले भने।
एमसीसी परियोजना नेपाली जनताको हितमा रहेको उनले बताए। मुलुकको आर्थिक अवस्था चुनौतिपूर्ण रहेको बेलामा त्यसको सामना गर्न एमसीसीले सहयोग पुर्याउने उनले बताए। पेट्रोलियम पदार्थको मूल्य बढिरहेको र आयात पनि बढिरहेकाले अब त्यो आयात घटाउन विद्युतीय सामाग्रीको प्रयोग बढाउन उनले आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।