काठमाडौं- प्रतिनिधि सभाबाट पास भएको एमसीसीबारे नेकपा एमालेले आफूहरु 'असंलग्न' रहेको जवाफ जनतालाई दिने भएको छ। संसदको चालु अधिवेशन अन्त्य भएको भोलिपल्ट बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो।
संसदीय दलको निर्णय सुनाउँदै एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले भने, 'संसद अवरोधका बेला संसदीय कामकारबाहीमा भाग लिएका थिएनौं। त्यसैले सामेल हुने प्रश्न नै रहेन।'
सत्तारुढ गठबन्धनले निश्चित 'मक्सद' पूरा गर्न मात्रै अधिवेशन चलाएको निष्कर्ष एमालेको छ। ११ दिनमा १९ पटक बसेको बैठकमा जनताका अजेन्डामा छलफल गर्ने प्रयास नै नभएको एमालेको दाबी छ।
भट्टराईले भने, 'यो अवधिमा जनताका सवालमा छलफल भएन। नकारात्मक कुराको दोष दिने गर्नुहुन्छ। हामीले अन्याय र विभेदका लागि विरोध जारी राखेका छौं। बेल घेराउ र नाराबाजीका बीचमा संसद चलाइयो। एमसीसी पास गर्नुभयो।'
उनले माओवादी केन्द्र स्वयंले सम्झौता गरेर बेवारिसे छाडेको एमसीसीमा अन्तत: ल्याप्चे लगाएको निष्कर्ष एमाले संसदीय दलले निकालेको संकेत गरे। उनले भने, 'केही दिन कुरेको भए त्यो व्याख्यात्मक घोषणा नामक कागजको खोस्टो जरुरी थिएन। ल्याप्चे लगाइन्थ्यो नै।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।