काठमाडौं– नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्ग विश्वकर्मा ‘प्रकाण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणसँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रकाण्डले प्रधानमन्त्री देउवासँग भेट गरेका हुन्।
'भूमिगत गतिविधि' त्यागेर 'खुला राजनीति'मा आउँदा केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारसँग भएको ३ बुँदे सम्झौता कार्यान्वयनको विषयमा विप्लव नेतृत्वको पार्टीले प्रधानमन्त्री र गृहमन्त्रीसँग भेट गरेको हो।
‘हाम्रो तीन बुँदे सहमतिको कार्यान्वयन लगायतका विषयमा नै छलफल भएको छ,’ भेटका बारेमा प्रकाण्डका छोरा नरेन्द्र विकले भने, ‘नेता कार्यकर्ताको रिहाइ नभएको अवस्थाका विषयमा पनि कुरा भएको छ।’ उनका अनुसार मुख्य रुपमा सरकारसँग भएको सहमति कार्यान्वयनकै विषयमा छलफल केन्द्रीत रहेको थियो।
जवाफमा प्रधानमन्त्रीले आफू तीन बुँदे सहमति कार्यान्वयनका लागि तयार रहेको भन्दै सकारात्मक प्रतिक्रिया दिएका थिए।
‘संसदीय व्यवस्था कि वैज्ञानिक समाजवाद हुने भन्ने विषयमा जनमत संग्रह हुनुपर्यो भन्ने कुरा राखियो,’ उनले भने, ‘प्रधानमन्त्रीले छलफल गरेरै अघि बढ्न तयार छौं भन्नुभयो,’ विकले भने।
ओली नेतृत्वक तत्कालीन सरकारसँग २० फागुन २०७७ मा ३ बुँदे सम्झौता गर्दै विप्लव नेतृत्वको नेकपा खुला राजनीतिमा आएको थियो। आफूहरुका तर्फबाट सहमति कार्यान्वयन भएपछि सरकारले भने सहमति कार्यान्वन नगरेको उक्त पार्टीका नेता/कार्यकर्ताहरुको भनाइ छ।
सहमति कार्यान्वयनमा ढिलाइ भएको भन्दै भन्दै नेकपाले पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदै आइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।