काठमाडौं- सत्तारुढ नेपाली कांग्रेसले अमेरिकी अनुदान सहयोग सम्बन्धी सम्झौता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्बन्धी भ्रम चिर्नका लागि पुस्तक प्रकाशन गरेको छ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयले ४९ पृष्ठ लामो एमसीसी अनुदान सहायता सम्झौता : भ्रम र यथार्थ नामक पुस्तक प्रकाशन गरेको हो।
पुस्तिकामा पहिलो खण्डमा ११ प्रश्नको निराकरण समावेश गरिएको छ भने खण्ड दुई मा एमसीसीबारेको भ्रम चिर्ने प्रयास कांग्रेसले गरेको छ।
पुस्तकमा कांग्रेसले एमसीसी अनुमोदन अघिको एक दशक लामो सम्झौता प्रक्रियामा संलग्न केही पार्टी र नेताहरुले दोहोरो चरित्र देखाएकाले एमसीसी गिजोलिएको उल्लेख गरेको छ । जसले गर्दा वास्तविकता र आवश्यका भन्दा एमसीसी जटिल बनेको कांग्रेसले उल्लेख गरेको छ । 'केही पात्रहरुको दोहोरो प्रवृत्तिका कारण यो विषय यसरी गिजोलिन पुग्यो जसले गर्दा वास्तविकता र आवश्यकता भन्दा धेरै जटिल बन्न गयो । ज–जसले यसलाई गिजोले, जनतामा भ्रम सृर्जना गरे, उत्तेजनाको राजनीति गरे र जुन दोहोरो चरित्र देखाए यसको मूल्याङ्कन आम जनताले गर्ने नै छन्' पुस्तकमा उल्लेख गरिएको छ।
पुस्तकमा एमसीसी सैन्य रणनीति नभएको, नेकपा माओवादी केन्द्र र एमालेको एमसीसी अनुदान सम्झौता र त्यसपछिका दिनहरुमा भूमिका लगायतका विषयमा उल्लेख गरेको छ।
चुनावी अभियानमा होमिएको कांग्रेसले एमसीसीको बारेको भ्रम चिर्नका लागि उक्त पुस्तक वडा-वडासम्म पुर्याउने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।