काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेपाल लाइफ अनमोल जीवन’ जीवन बीमा योजना सार्वजनिक गरेको छ।
कम्पनीले समय सापेक्ष ग्राहकहरुको चाहना तथा अभिकर्ताहरुको सुझावलाई मध्यनजर गर्दै नयाँ–नयाँ जीवन बीमा योजनाहरु ल्याउने क्रममा ‘नेपाल लाइफ अनमोल जीवन’जीवन बीमा योजना प्रस्तुत गरेको जनाएको छ। यो जीवन बीमा योजना मुनाफामा सरिक हुने सावधिक तथा आजीवन जीवन बीमा हो।
मानिसको अनमोल जीवनमा विभिन्न जोखिमबाट आइपर्ने क्षतिलाई बीमाको माध्यमबाट न्यूनीकरण गर्न कम्पनीले सावधिक र आजीवनको विशेषता भएको ‘नेपाल लाइफ अनमोल जीवन’ बीमा योजना बजारमा ल्याएको जनाएको छ।
बीमा अवधि समाप्तीपश्चात पनि जोखिम वहन गर्नुका साथै कम्पनीले बहन गर्ने जोखिम अन्तर्गत बीमितले चाहेको समयमा उक्त जोखिम वहन बापतको समर्पण मूल्य भुक्तानी लिन सक्नु यो जीवन बीमा योजनाको अर्को विशेषता रहेको कम्पनीले जनाएको छ।
यसका विशेषताहरू :
१८ वर्षदेखि ६५ वर्षसम्म उमेर समूहका व्यक्तिले न्यूनतम ५ वर्षदेखि अधिकतम ५० वर्षसम्म अवधिको यो बीमा योजना लिन सक्नेछन्।
बीमा समाप्तिमा अधिकतम उमेर ७० वर्ष रहेको छ भने न्यूनतम पच्चिस हजार रुपैयाँदेखि आयश्रोतको आधारमा जति पनि बीमांक रकमको बीमा गर्न सकिने छ।
बीमा शुल्क भुक्तानी तरिका छनोटको छुट वा थप शुल्क लाग्नेछ। यदि बीमालेख जारी गर्ने समयमा वार्षिक बीमा शुल्क भुक्तानी गर्ने तरिका छनोट गरेको छ भने बीमा शुल्कमा १ प्रतिशत छुट प्राप्त हुनेछ।
तर, अर्धवार्षिक छनोट गर्दा छुट प्राप्त हुने छैन। त्यसैगरी बीमालेख जारी गर्ने समयमा त्रैमासिक बीमा शुल्क भुक्तानी गर्ने तरिका छनोट गरेको छ भने बीमा शुल्कमा ३ प्रतिशत थप लाग्ने कम्पनीले जनाएको छ।
मासिक छनोट गर्दा ६ प्रतिशत थप शुक्ल लाग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।