काठमाडौं– खाने तेलमा भएको मूल्यवृद्धि सम्बन्धमा विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।
प्रशोधित खाने तेलमा भएको मूल्यवृद्धिका विषयमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट समेत पटक पटक चासो दिएपछि संघले विज्ञप्ति जारी गर्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको हो।
संघले तेलका लागि चाहिने कच्चा पदार्थ बाहिरी मुलुकबाट आयात गर्नुपर्ने भएपनि कोरोनाभाइरसको महामारीका कारण र हालैका दिनमा रसिया र युक्रेनमा भएको युद्धकालको परिस्थिति अप्राकृतिक कारण तेलको मूल्यमा बृद्धि हुन गएको स्पष्ट पारेको छ। संघले अन्तर्राष्ट्रिय बजारले नै नेपालको मूल्य निर्धारण गर्ने भएकाले मूल्यमा वृद्धि हुन गएको जनाएको छ।
'विश्व बजारमा नै कच्चा तेलहरुको अभाव सिर्जना भइ क्रुड आयलहरुको मूल्यमा अस्वाभाविक रुपमा करिब ४० देखि ५० प्रतिशतसम्म वृद्धि हुन पुगेको छ जुन हालसम्मकै ऐतिहासिक मूल्यवृद्धि रहेको छ', विज्ञप्तिमा भनिएको छ, 'साउथ अमेरिकामा भएको भीषण सुख्खायाम, मलेसिया र इन्डोनेसियामा भएको श्रमिकको समस्या र खराब मौसमले गर्दा ४० प्रतिशत बाली विग्रिँदा क्रुड खाने तेलहरुको मूल्य जनवरीमा नै ऐतिहासिक विन्दुमा पुगिसकेको थियो।'
नेपालमा कच्चा पदार्थ शतप्रतिशत तेश्रो मुलुकबाट आयात गर्नु परेकोले अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्यमा हुने उतारचढाव अनुसार नै स्थानीय बजारको मूल्य निर्धारण गर्ने प्रक्रिया यहाँका उद्योगहरुको बाध्यता रहेको भनिएको छ।
संघमा आवद्ध रहेका २२ वटा प्रशोधित खानेतेल उत्पादन गर्ने उद्योगहरुले आ–आफ्ना उत्पादनहरु सोयाविन तेल, सनफ्लावर तेल ईत्यादी उत्पादन गरी स्थानीय बजारमा बिक्री वितरण र नियमित रुपमा आपूर्ति गर्दै आइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।