काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका दलहरु आगामी निर्वाचनमा एक्लाएक्लै आए कर्याककुरुक हुने बताएका छन्।
अखिल नेपाल महिला संघले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पाँच दल एकातिर एमाले मात्रै अर्कातिर भन्ने भ्रममा नरहन कार्यकर्तालाई आग्रह गर्दै उनीहरु स-साना रहेको टिप्पणी गरेका हुन्।
उनले भने, 'कसैले चलाखीपूर्ण रुपमा भन्न सक्छ- सबै एकातिर छन्, हामी एकातिर छौं जित्न गाह्रो छ है कमरेड। भ्रममा नपर्नुहोला। जित्न गाह्रो छैन। यिनीहरु स–साना हुन्। आज हामी बढी भएको अवस्था हो। हाम्रो तौल बढी हुन्छ। जनअभिमतका कारणले हामी नै बलियो छौं। जनताको आकर्षण देख्नुभएको छैन? सत्ताधारी दलका नेताकार्यकर्ताहरु हामीतिर आइरहेका छन्।'
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले केही दिनअघि 'एमाले कमजोर नरहेको' भनेर गरेको भाषणलाई उनले उदाहरणका रुपमा प्रस्तुत गरे।
थपे, 'एमाले बलियो छ भनेको त सुन्नुभएको होला नि। त्यसैले एक्लाएक्लै आए कर्याककुरुक भइहाल्छन्, सबै मिलेर आएपनि उम्किदैनन्।'
उनले आत्मविश्वासका साथ कार्यक्षेत्रमा गएर जित्ने तयारी गर्न निर्देशन गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।