काठमाडौं– न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी आफ्नो पेसाप्रति इमान्दार हुनुपर्ने महान्यायाधिवक्ता खम्मबहादुर खातीले बताएका छन्।
नेपाल कानुन व्यवसायी परिषद्ले आयोजना गरेको २९ औं पूर्वव्यावसायिक आधारभूत तालिमको शुभारभ्भ गर्दै उनले स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका बनाउनका लागि कानुन व्यवसायी इमानदार हुनुपर्नेमा जोड दिए।
‘कानुन व्यवसायीले पेशागत निष्ठाभन्दा अरु केही गर्न हुँदैन,’ महान्यायाधिवक्ता खातीले भने, ‘न्यायालयको छवि उच्च राख्न र पेसागत सुरक्षाका लागि विचलित नभइकन कानुन व्यवसायीले काम गर्नुपर्छ।’
नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्याय स्वच्छ र निष्पक्ष बनाउन कानुन व्यवसायी निर्भिक भएर काम गर्नुपर्ने बताए। न्यायापालिकालाई स्वतन्त्र, सक्षम र निष्पक्ष बनाउनका लागि बारले निरन्तर आवाज उठाइरहेको उनले बताए।
सो अवसरमा महान्यायाधिवक्ता खातीले नवोदित कानुन व्यवसायीका लागि उपयोगी हुने हाते पुस्तकसमेत सार्वजनिक गरेका थिए। बार काउन्सिलले प्रकाशन गरेकोे उक्त पुस्तक उच्च अदालतका पूर्वन्यायाधीश विनोदप्रसाद शर्मा, वरिष्ठ अधिवक्ता तथा नेपाल कानुन व्यवसायी परिषद्का सदस्य डा चन्द्रकान्त ज्ञावली र अधिवक्ता पूजा भण्डारीले तयार गरेका हुन्।
उक्त पुस्तकमा व्यावहारिक मस्यौदा, सीप, सेवाग्राहीसँग परामर्श, बहस कला तथा कानुन व्यवासायीको आचार संहितालगायत विषय समावेश गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।