काठमाडौं- साउदी अरबका राजकुमार फैसल बिन फहरान अल साउद काठमाडौं ओर्लिएका छन्। विदेशमन्त्रीसमेत रहेका फैसल सोमबार साँझ २३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको दुईदिने औपचारिक भ्रमणमा आइपुगेका हुन्।
निजी विमान चढेर श्रीलङ्काबाट आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा परराष्ट्र सचिव भरतराज पौड्याल र नेपालका लागि साउदी अरबका राजदूत मुसैद सुलेमान एम अल मरवानीले स्वागत गरेका थिए।
भ्रमणका क्रममा साउदी अरबका विदेशमन्त्री फैसलले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ।
भोलि नै परराष्ट्रमन्त्री डा नारायण खड्काले आफ्ना साउदी समकक्षीसँग भेटवार्ता गर्ने छन्। भेटवार्तापछि दुवै देशका परराष्ट्रमन्त्रीले पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ। भोलि अपराह्न उनी स्वदेश फर्कने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।