काठमाडौं– वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले जनता समाजवादी पार्टीले आफूमाथि दुर्व्यवहार गरेकाले एमालेमा प्रवेश गरेको बताएका छन्।
सोमबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै मेयर सरावगीले आफूले जनता समाजवादी पार्टीलाई महानगरमा जिताएको भएपनि पार्टीभित्र दुर्व्यवहार हुने गरेकाले सो पार्टी परित्याग गरी एमाले प्रवेश गरेको बताएका हुन्।
विगतमा आफूले जसपा छोड्न दुई पटक राजीनामा दिएको भएपनि अध्यक्ष उपेन्द्र यादवले रोकेको पनि उनको भनाइ छ। आफूलाई सामाजिक रुपमा मानमर्दन गर्ने काम नरोकिएकोले आफूले नयाँ पार्टी रोज्नुपरेको सरावगीको भनाइ छ।
मेयर सरावगीले एमाले अध्यक्ष केपी शर्मा ओलीको राष्ट्रिय भावना र उनको विकासप्रतिको चाहनाबाट प्रेरित भएका कारण एमाले रोजेको बताए। आफू कांग्रेस प्रवेश गर्ने विकल्प हुँदाहुँदै पनि कांग्रेसमा जनप्रतिनिधि बन्ने अवस्था नभएकाले कांग्रेस नरोजेको उनको भनाइ छ।
‘नयाँ पार्टी रोज्ने बेलामा मसँग दुईवटा अप्सनहरु थिए। एउटा अप्सन थियो– म कांग्रेसमा जाउँ। अर्को अप्सन थियो एमालेमा जाउँ। कांग्रेसमा जाने अप्सन अलिकति कमजोर किन भयो भने त्यहाँ पहिलादेखि यति भीड छ। मान्छेहरुले त्यहाँ पहिलादेखि नै लाइनमा लागिराखेको छ। त्यहाँनिर धेरै स्कोप नभएको हुनाले र म जुन पार्टीमा लागेको थिएँ जसपा, एक प्रकारले कम्युनिष्ट भावनाबाटै चलेको पार्टी थियो। केपी ओलीजीको राष्ट्रिय भावना र उहाँको विकासप्रति जुन एउटा चाहना मैले देखेँ। त्यो सबैबाट प्रेरित भएर त्यसपछि एमालेलाई रोजेँ’, उनले भने।
उनले एमालेमा कुनै पद पाउनका लागि शर्त गरेर नगएको पनि दाबी गरे। एमालेले आफ्नो काम र प्रस्तुति हेरेर जुन जिम्मेवारी दिन्छ सोही जिम्मेवारी लिने उनको भनाइ छ।
उनले आगामी निर्वाचनमा एमालेले मेयरको टिकट दिएर त्यसका लागि आफू तयार रहेको स्पष्ट पारे। मेयरको टिकट नदिएर अन्य जिम्मेवारी दिएपनि स्वीकार गर्ने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।