पोखरा- नयाँ पर्यटकीय गन्तव्यका रूपमा थपिएको अन्नपूर्ण केबलकार पोखराले चैत्र १ गतेबाट बिहान ५ बजेदेखि सेवा सञ्चालनमा ल्याउने भएको छ।
पोखरा महानगरपालिका–१८ को सेदी बगरमा निर्माण भएको अन्नपूर्ण केबलकार चैत्र १ गतेबाट बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म संचालनमा ल्याउन लागेको केबलकारका महाप्रबन्धक दिनेश पौड्यालले जानकारी दिए।
बिहानी सेवा संचालनसंगै पयर्टकहरुले सूर्योदयको दर्शन तथा साँझ सूर्यास्तको अवलोकन गर्न सकिने कम्पनीले जनाएको छ।
गत फागुन ६ गतेबाट नै सञ्चालनमा आएको अन्नपूर्ण केबलकारको दूरी सेदीबगरदेखि सराङकोटसम्म दुई हजार ४०० मिटर रहेको छ भने सेदीबगरदेखि सराङकोटसम्म लामो समय लाग्ने सडक यात्रालाई केवल नौ देखि १०मिनेट भित्रमा नै पार गर्न सकिने बनाएको छ ।
१७ वटा गोन्डोला रहेको र एउटा गोन्डोलामा आठ जनासम्म बसेर सयर गर्न सकिनुका साथै एक घण्टामा ५ सय जनासम्मले यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ।
कम्पनीले नेपालीका लागि रु ७ सय, सार्क राष्ट्रका पर्यटकका लागि रु ८ सय र तेस्रो मुलुकका नागरिकका लागि नौ डलर भाडादर तयगरेको छ ।
ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि भने भाडामा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ।
यसैगरी विद्यार्थीकालागि २५ प्रतिशत सहुलियतका साथै सहकारीबाट भमणमा आउने सदस्यहरुलाई १० प्रतिशत छुटको व्यवस्था गरेको कम्पनीले जनाएको छ।
पोखरा र काठमाडौँका प्रतिष्ठित व्यवसायीको लगानी रहेको अन्नपूर्ण केबलकारको लगानी दुई अर्ब रुपैयाँ लागत पुगेको अन्नपूर्ण केबलकार प्रालिका सञ्चालक एवं निर्देशक तीर्थराज त्रिपाठीले जानकारी दिए।
शुरुमा एक अर्ब ३० करोडको लागत अनुमान गरिए पनि कोभिड १९ को संक्रमणकालिन समय र विभिन्न संरचनाहरुले गर्दा लागत बढेको बताइएको छ। कम्पनीमा स्थानीयवासीबाट २५ प्रतिशत र विभिन्न व्यवसायीबाट ७५ प्रतिशत लगानी गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।