काठमाडौं – स्थानीय निर्वाचन आगामी वैशाख ३० गते तोकिएपछि राजनीति दलहरु गाउँ केन्द्रित भएका छन्। निर्वाचनका लागि सबै पार्टीका केन्द्रदेखि प्रदेश र स्थानीय कमिटी निर्वाचन जित्न सक्रिय भई लागेका छन्। तर, माओवादीले स्थानीय पालिका कमिटी टुंगो लगाएपनि प्रदेश कमिटी अझै टुंगो लगाउन सकेको छैन।
सात भौगोलिकसहित दुई गैरभौगालिक मध्ये तीन प्रदेश कमिटीले अझै पूर्णता पाएको छैन। मधेश प्रदेश र लुम्बिनीमा अध्यक्षसहित पदाधिकारी नै टुंगो लागेको छैन। गण्डकी प्रदेश अध्यक्षमा अध्यक्ष गायत्री गुरुङ सर्वसम्मत रुपमा टुंगो लागेपनि पदाधिकारीले पूर्णता पाएको छैन। प्रदेशमा ९ पदाधिकारी हुने व्यवस्था भएपनि अझै ८ पदाधिकारीले जिम्मेवारी पाएका छैनन्।
‘लुम्बिनी प्रदेशमा २१७ सदस्यीय प्रदेश कमिटीले पूर्णता पाएको छ। यद्यपि, अध्यक्षमा सुदर्शन बराललाई अध्यक्ष बनाउने भनिएको छ। आधिकारिक निर्णय भएको छैन,’ केन्द्रीय सदस्य निर्मल आचार्यले भने, ‘मंगलबारको प्रदेश समितिबाट प्रदेश कमिटीलाई पूर्णता दिने भनिएको छ। त्यसपछि निर्वाचनमा केन्द्रित हुनेछौं।’ पार्टीको केन्द्रीय समिति बैठकमा व्यस्त भएकाले प्रदेश कमिटीले पूर्णता नपाएको बताउँदै आचार्यले अब छिट्टै पूर्णता दिएर चुनावमा केन्द्रित हुने दाबी गरे।
यस्तै मधेश प्रदेश प्रदेश कमिटी पनि टुंगो लागेको छैन। मधेश प्रदेशमा माओवादी विभिन्न गुटमा विभाजित भएकाले प्रदेश कमिटीलाई टुंगो लाग्न सकेको छैन। तर, मधेश प्रदेशका सह–इन्चार्ज विश्वनाथ साहले सबै समुदायको समावेशी कमिटी बनाउनुपर्ने भएकाले ढिलाइ भएको प्रक्रिया दिए। ‘हामीले पार्टीका हरेक कमिटी समावेशी चरित्रको बनाएका छौं। यो प्रदेशमा पनि बनाउँदा थोरै समय लागेको हो,’ साहले भने, ‘बुधबार प्रदेशको केन्द्रीय समितिको बैठक बोलाएका छौं। त्यहीँबाट एउटा समझदारी बनाएर कमिटी टुंगो लगाउँछौ।’ प्रदेश कमिटीका विषयमा मोटामोटी सझदारी बनाई सकेकाले टुंगो लगाउन समस्या नहुने साहको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।