काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार भन्ने नै रहर हो भने स्थानीय तहलाई सरकार भनिदिने र बनाउने बताएका छन्। आइतबार नेपाल नगरपालिका संघको साधारण सभामा सम्बोधन गर्दै उनले त्यसो गर्नु ठूलो कुरा नभएको बताएका हुन्।
कार्यक्रममा सहभागी बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय तहलाई स्थानीय सरकार भन्नुपर्ने बताएका थिए। त्यसप्रति लक्षित गर्दै प्रधानमन्त्री देउवाले भने, 'यहाँ केही कुरा उठेको छ, स्थानीय सरकार भन्ने कि स्थानीय तह भन्ने। नाममै रहर छ भने स्थानीय सरकार नै भनिदिउँला, केही छैन। काम गर्ने हो।'
उनले स्थानीय सरकार नै भनेर चित्त बुझ्ने हो भने आफूले सबै पार्टीसँग सहमति लिएर कहाँकहाँ संशोधन गर्नुपर्छ, के गर्नुपर्छ सबै मिलाएर सरकार बनाउन आपत्ति नभएको बताए।
'तर, महत्त्वपूर्ण कुरा डेलिभरीको हो, कामको हो। नगरपालिका जनताको प्रत्यक्ष सम्पर्कमा रहन्छ। प्रत्यक्ष सम्बन्ध भएको ठाउँ हो। जनताका कामहरु, दुःखहरु हटाउने काम गर्नुस्। भोलिका दिनमा यो सरकार नै हुनसक्छ। तपाईंहरु काम गर्दै जानुस्। यो ठूलो कुरा होइन। तह र सरकारमा तह हटाइदिउँला केही छैन', उनले थपे।
प्रधानमन्त्री देउवाले जनतालाई प्रत्यक्ष सहभागिता गराएर अघि बढ्न सुझाए। 'विकासमा स्थानीयको सहभागिता भएको खण्डमा, सानातिना नियम निर्माण र कार्यान्वयनमा पनि जनताको सहभागिता भएको खण्डमा मलाई विश्वास छ, स्थानीय सरकार हुनसक्दछ', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।