काठमाडौं– सभामुख अग्नीप्रसाद सापकोटाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई संसद् सुचारु राखेर जनताका दैनिक समस्यासँग सम्बन्धित विषयमा छलफल र कानुन निर्माण गर्ने कुरामा सहयोग गर्न आग्रह गरेका छन्।
आइतबारको बैठकमा पनि एमाले सांसदहरुले संसद् अवरोध जारी राखेपछि सभामुख सापकोटाले संसद् सुचारु गर्न आग्रह गरेका हन्।
‘प्रतिनिधि सभामा विचाराधीन रहेका ४२ विधेयकहरुलाई नियमानुसार पारित गर्ने, आम नागरिकका दैनिक समस्याहरु जनप्रतिनिधिले सरकारलाई सुनाउने, समाधानको प्रयत्न गर्ने कार्य हुन सकेन। सरकारलाई संसद्प्रति उत्तरदायी बनाउने, कानुन निर्माण एवं निगरानी गर्ने कार्यहरु समेत अवरोधका कारण प्रभावित हुन पुगेको छ,’ सभामुख सापकोटाले भने।
सभामुख सापकोटाले विचाराधीन विधेयकहरुलाई नियमानुसार पारित गरी राज्य सञ्चालनमा सहयोग गर्नु सवैको दायित्व भएको उल्लेख गर्दै संसद् अवरोधका कारण विधि निर्माण प्रक्रिया प्रभावित भएकोमा जनता र राष्ट्रका समस्यामा छलफल गर्न नपाएको बताए।
‘माननीय सदस्यहरुले मलाई पटक–पटक ध्यानाकर्षण गराउनु भएको छ। संसद्लाई प्रभावकारी बनाउन आमरुपमा प्रश्न उठिरहेको छ,’ सभामुखलले रुलिङ गरे, ‘तसर्थ अबरोध अन्त्य गरी सभा सञ्चालनमा सहयोग गर्न म सम्बन्धित माननीय सदस्यहरुलाई बिशेष अनुरोध गर्दछु।’
नेकपा एमालेले आफूहरुले कारबाही गरेका १४ जना सांसद्हरुलाई कारबाही सूचना टाँस नगरेर सभामुखले नै दल विभाजनमा भूमिका खेलेको आरोप लगाउँदै आएको छ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहितका १४ जना सांसद्लाई कारबाही गरिएको सूचना टाँसको माग गर्दै एमालेले गत असोजदेखि संसद् अवरोध गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।