काठमाडौं– प्रतिनिधि सभाको आइतबारको बैठकमा एमालेले दुइथरि शैली देखाएको छ। प्रतिनिधि सभा बैठक सुरु भए लगत्तै एमालेले विरोध अभियानलाई निरन्तरता दिइरहँदा पार्टीकै सांसद भीम रावलले भने उठेर समय माग गरे। सभामुख अग्निप्रसाद सापकोटाले उनलाई समय दिए। सभामुखले समय उपलव्ध गराए लगत्तै रावलले आफ्नै स्थानबाट उठेर एमसीसीबारे बोल्न थाले। उनले सभामुखले दिएको समयमा दार्चुलामा महाकाली नदीको बहाव नेपालतिर फर्काउने प्रयास भारतले गरेको कुरा पनि उठाए। उनले चुच्चे नक्सा कार्यान्वयनबारे सदनमा आएर प्रधानमन्त्री र मन्त्रीहरुले जवाफ दिनुपर्ने माग गरे।
एमसीसी पारित गरेपछि स्वतन्त्र परराष्ट्र नीति परिर्वतन भएको हो भन्दै देशभक्तमाथि खिसिट्युरी गर्ने काम सुरु उनले भएको दावीसमेत गरे। ‘यो सम्झौतापछि सरकारले के गर्यो त्यसपछि भएको कुरा जानकारी पाउनुपर्छ,’ उनले भने। त्यस्तै उनले केही दिन अघि भारतले एकतर्फी रुपमा दार्चुला जिल्लाको महाकाली नदीमा तटवन्ध निर्माणा गर्ने काम भएकोप्रति समेत सरकारको ध्यानाकर्षण गराए।
‘भारतले एकतर्फी रुपमा महाकाली नदीको बवहाव नेपालतिर फर्काउने प्रयास गरिरहँदा सरकारका कहाँ छ। यो काम बन्द हुनुपर्छ भनेर दार्चुलाबासीले आवाज उठाउँदा सुनिएन,’ उनले भने, ‘त्यहाँका जनताले महाकाली नदी फर्काउन लागेको डोजरलाई ढुङ्गाले हिर्काएर फर्काउन वाध्य पारेको तर सरकार नदेखिएकोमा दुःख लागेको छ।’
भारतले विगतमा पनि यस्तै प्रयास गरेको र अहिले दार्चुलाको गंगा बगरमा पनि यस्तै गर्न खोजेको उनको अरोप थियो । विगतमा दशगजामा आफ्नो जमिनमा पर्खाल लगाउन खोज्दा भारतीय पक्षले नेपाली नागरिक हत्या गरेको भन्दै उनले यस विषयमा सदनमा जानकारी दिनुपर्ने माग गरे।
चुच्चे नक्सा सार्वजनिक पछि के भइरहेको छ त्यसको बारेमा सदनमा जवाफ दिनसमेत उनले माग गरे। यस्तो विषयमा नबोल्ने सरकार हुँदैन भन्दै उनले संसदमा आएर सरकारले जवाफ देओस् भन्दै सभामुखमार्फत आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।