काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा विघटनकारी विचार र शक्तिहरु अहिले पनि विघटनकै पक्षमा रहेको बताएका छन्। आइतबार विराटनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेले बिनाकुनै प्रमाण, तथ्य र तर्क सदन अवरुद्ध गरिरहेको बताए।
'जसले पटकपटक प्रतिनिधि सभा विघटन गर्ने दुष्साहस गरे, त्यही शक्तिले अहिले सदन चल्नै नदिने गरिहरेको छ,' उनले भने, 'अवरोध गर्नुपछाडिको तर्क अर्को पार्टी बन्यो, सभामुखले पार्टी फुटाउन सहयोग गर्यो भन्ने छ, यो तर्क कुनै तर्कै होइन। किनकि, १४ जना सांसद्को कुरा अदालतमा छ। अदालतको फैसला नआइ कसैले केही गर्न सक्ने स्थिति छैन।'
प्रचण्डले सभामुखले जे गरेका छन्, संविधान र कानुनको व्यवस्थाअन्तर्गत नै गरेको बताए। '१५ दिनभित्र आफ्नो राय दिनुपर्थ्यो। १३ दिनभित्र दिनुभयो। त्यसकारण त्यहाँ कुनै मुद्दा नै छैन। आधार नै छैन,' उनले भने।
प्रतिगमन र विघटनको पक्षपाती, परिवर्तनको विरोधीका रुपमा आफूलाई प्रस्तुत गरेका एमाले, मुख्यतः केपी ओली गुट अहिले पनि सदन चल्न नदिएर आफूले विघटन गरेको जायजै थियो, सदनले केही नि गर्न सक्दैन भन्ने देखाउन खोजिरहेको प्रचण्डको भनाइ छ। 'त्यसकारण आउने निर्वाचन वास्तवमा विघटनकारी शक्ति र परिवर्तनकारी शक्ति, प्रतिगामी शक्ति र प्रगतिवादी शक्तिको बीचमा नै प्रतिस्पर्धा हुनेवाला छ,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।