काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)को संघीय परिषद् बैठकमा नेताहरुले आत्मसम्मानसहित गठबन्धन बनाएर निर्वाचनमा जानुपर्ने सुझाव दिएका छन्।
संघीय परिषद् बैठकमा नेताहरुले सुझाव दिने क्रममा चार दलीय मोर्चा बनाएर स्थानीय निर्वाचनमा जाँदा जसपाको समेत आत्मसम्मान हुनेगरी तालमेल हुनुपर्ने बताएका हुन्।
‘अहिले जसपा संसदको निर्णायक शक्ति हो । मधेस प्रदेश लगायत अन्य प्रदेशमा राम्रो जनमत छ,’ बैठकमा उठेका सुझावबारे जानकारी दिँदै केन्द्रीय सदस्य राजेश विद्रोहीले भने,‘चार दल गठबन्धन बनाउँदा आत्मसम्मान हुनेगरी भागबण्डा लिनुपर्छ। अपमानित भएर स्थानीय निर्वाचनमा जानुहुनन्। यदी जनमतको सम्मान हुनेगरी भागबण्डा नभए एकल रुपमा निर्वाचनमा जानुपर्छ।’
सत्ता गठबन्धनमा भागबण्डा नमिलेमा एकल रुपमा भएपनि निर्वाचनमा गएर आफ्नो स्थान हासिल गर्नु पर्ने नेताहरुको सुझाव छ।
यस्तै, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको प्रतिवेदन बहुमतले पारित गर्दै सरकारको समीक्षाको विषय विस्तृत रुपमा समेटनु पर्ने मत व्यक्त गरेका छन्।
सरकारको प्रभावकारीता पार्टीसँग समेत जोडिने भएकाले त्यसका विषयमा निर्मम समीक्षा हुनुपर्ने विद्रोहीले बताए। शनिबार एक दिने संघीय परिषद् बैठक सकिएपछि आइतबार र सोमबार केन्द्रीय समिति बैठक बस्ने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।