नुवाकोट– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका दिवगंगत नेता पोष्टबहादुर बोगटीको अभाव सबैभन्दा बढी आफूले महसुस गरेको बताएका छन्। बोगटीको निधनपछि पार्टीभित्र सबैभन्दा बढी दु:ख आफूले पाएको पनि प्रचण्डको भनाइ छ।
नुवाकोटको विदुरमा शनिबार दिवंगत बोगटीको पूर्णकदको शालिक अनावरण गर्दै प्रचण्डले भने, 'उहाँ (बोगटी) नहुँदा पार्टीभित्र असाध्यै दु:ख भोग्ने दु:खी पात्र म भएको छु।'
पार्टीमा देखिने अन्तर्संघर्षका बेला नेताहरुले सीमा नाघेर एक–अर्कोको आलोचना गर्दा नाघ्दा बोगटीले नै टेबल ठाएर मिलाउने गरेको पनि प्रचण्डले स्मरण गरे।
‘बेलाबेला नेताहरुबीच अन्तर्विरोध हुँदा हामी सीमा नाघेर एकअर्कालाई चर्को आलोचना गर्थ्यौं। तर, जब पोष्टबहादुर बोगटी टेबल ठट्याएर आफ्नो कुरा राख्नुहुन्थ्यो, हामी सिनियर भनिएका नेताहरुकै सातो जान्थ्यो,’ प्रचण्डले भने।
बोगटी जहाँ समस्या आउँछ, त्यसको समाधान गर्ने व्यक्ति जस्तै बनेको भन्दै स्मरण गर्दै उनले भने, ‘डा. बाबुराम भट्टराई, मोहन वैद्य किरण म लगायत हामीहरु सिनियर थियौं । तर उहाँले टेबल ठटाएपछि हामी वरिष्ठ भन्ने नेताहरुको करिव करिव सातो जान्थ्यो ।’
पार्टीका तत्कालीन वरिष्ठ नेताहरु मोहन वैद्य (किरण) र बाबुराम भट्टराईले आफूलाई सताउँदा बोगटीले नै उनीहरुलाई सम्झाउने गरेको पनि प्रचण्डले बताए।
'डाक्टर र वैद्यले बेलाबेलामा प्रचण्डलाई सताउन त सताउँथे। सताएपछि तिनको सातो खानेगरी पसिना छुटाउने भनेको पोष्टबहादुर बोगटी नै हो,' प्रचण्डले भने।
प्रचण्डले नेपालको राजनीतिमा माओवादी सधैं सङ्कट मोचकको भूमिकामा देखिएको जिकिर समेत गरे। शान्ति प्रक्रिया, संविधान निर्माणदेखि एमसीसी विवादमा माओवादीले सङ्कट मोचकको भूमिका खेलेको उनले दाबी गरे।
व्याख्यात्मक घोषणामार्फत् एमसीसी अनुमोदन गरेर देशलाई ठूलो संकटबाट जोगाएको पनि प्रचण्डले जिकिर गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।