काठमाडौं– जनता समाजवादी पार्टी (जसपाल)ले आफ्नो दृष्टिमा नेपाली कांग्रेस र नेकपा एमाले फरक नरहेको उल्लेख गरेको छ। जसपाको पहिलो संघीय परिषद् बैठकमा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईद्वारा प्रस्तुत प्रतिवदेनमा कांग्रेस–एमालेको ब्रान्ड नाम मात्रै फरक रहेको उल्लेख गरिएको छ।
भट्टराईको प्रतिवेदनमा भनिएको छ, 'पार्टीको दृष्टिकोणमा एमाले मूलत: बहुदलीय जनवादमार्फत् नेपाली कांग्रेसजस्तै उदार संसदीय लोकतन्त्रवादी दलमा रुपान्तरण भएको छ । कांग्रेस र कम्युनिस्टको ब्राण्ड नाम बाहेक कांग्रेस र एमालेको नीतिमा भिन्नता पाउन गाह्रो छ।'
कांग्रेस र एमाले एउटै सिक्काका दुई पाटा जस्तै रहेको पनि बताइएको छ। दुबै दलले वर्तमान संविधानलाई संसारको उत्कृष्ट संविधान भन्दै दीपावली गरेको उल्लेख गरिएको छ। भनिएको छ, 'संघीयता, समावेशिता, प्रत्यक्ष, सहभागितामूलक लोकतन्त्र, समानुपातिकता, सकारात्मक विभेद, सामाजिक न्याय, सीमान्तकृत समुदायको आरक्षण, उत्पीडित राष्ट्रियताहरुको पहिचान, अधिकार र मुक्तिको प्रश्नमा उस्तै र उत्तिकै अनुदार देखिन्छन्। कांग्रेसले अभ्यास गरिरहेको नवउदारवादी अर्थनीतिभन्दा फरक एमालेले कुनै तात्विक भिन्नता भएको अर्थनीति प्रस्तुत गर्न सकेको छैन।'




उत्पीडित राष्ट्रियताहरुको पहिचान, अधिकार र मुक्तिको प्रश्नमा, शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तनको प्रश्नमा माओवादी कांग्रेस र एमालेभन्दा थोरै लचिलो र उदार रहेको बताइएको छ। तर, यी सवालमा पनि माओवादी केन्द्रले अवसरवादी नीति अख्तियार गर्ने गरेको विश्लेषण छ । 'एमालेसँग एकताको अवधिमा माओवादी केन्द्रले यी सबै सवाल छोडेको थियो र एमाले जस्तै भएको थियो। बाँकी प्रश्नमा भने माओवादी झनै अनुदार, सङ्कीर्ण, शास्त्रीय र अवसरवादी वामपन्थी समूहका रुपमा देखिएको छ,' माओवादीबारे भट्टराईको प्रतिवेदनमा भनिएको छ।
नेकपा (एकिकृत समाजवादी) को विचार, सिद्धान्त र एजेण्डा के हो, त्यो एमाले र माओवादी केन्द्रसँग के कति कारणले समान वा फरक भन्ने अझै प्रष्ट नभएको प्रतिवेदनमा छ। 'केपी शर्मा ओलीको असंवैधानिक संसद् विघटनसँग विमति राखेको, एमालेबाट फुटेको दल भएको हुँदा यसको विश्लेषण पद्धति आधारभूत रुपमा एमालेको जस्तै छ,' प्रतिवेदनमा भनिएको छ, 'यो दलले कुन बाटो रोज्छ, यसको राजनीतिक भविष्य के कस्तो हुन्छ अझै केही समय पर्खेर हेर्नु पर्दछ। सोही बमोजिम कुन हदसम्म सहकार्य गर्न सकिन्छ वा सकिँदैन, निर्णय गर्दै जानु पर्ने हुन्छ।'
एमसीसी प्रकरणमा यी तीन वटै कम्युनिष्ट समूहले चरम अस्थीरता, अवसरवाद र द्वैध चरित्र प्रदर्शन गरेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।